|
869 SHARES |
विनोद सापकोटा
झापा, कार्तिक २१ । मानिसलाई खुसी बनाउन सधैँ ठूलो उपहार वा महँगो वस्तु नै चाहिन्छ भन्ने हुँदो रनेनछ । व्यक्तिको मिठो बोली, आत्मीय व्यवहार र आवश्यकताअनुसारको सानो सहयोगले पनि मानिसको अनुहारमा ठूलो खुसी ल्याउन सक्ने रहेछ भन्ने उदाहरण यहाँको एउटा कार्यक्रमले देखाएको छ । शिवसताक्षी नगरपालिका–८ मा सुक्रबार देखिएको दृश्यले यही कुरालाई पुष्टि ग¥यो ।
वडाध्यक्ष सन्तकुमार फेउदिनले किसानलाई एक किलो उन्नत जातको तोरी वा टीपीएस आलुको बीउ उपहार दिए । हातमा बीउ पाएपछि किसानका अनुहारमा देखिएको खुसी सामान्य थिएन । उनीहरूका लागि त्यो एक किलो बीउ मात्रै थिएन, आगामी खेती र उत्पादनप्रतिको एउटा नयाँ आशा पनि झल्किरहेको थियो ।
वडाले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको यो कार्यक्रमअन्तर्गत किसानले आफ्नो इच्छाअनुसार तोरी र टीपीएस आलुमध्ये कुनै एक जातको एक किलो बीउ पाउने व्यवस्था छ । जग्गाधनी प्रमाणपुर्जा वा जग्गासम्बन्धी आधिकारिक निस्सा र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि बुझाउने किसानले लागत साझेदारीस्वरूप ५० रुपैयाँ योगदान गरेर बीउ प्राप्त गर्न सक्छन् ।
आवश्यक कागजात जुटाउन लाग्ने खर्चसमेत जोड्दा किसानले कम्तीमा ७० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । बजारमा खुद्रा मूल्यअनुसार उन्नत जातको तोरीको बीउ प्रतिकिलो करिब ३५० रुपैयाँ र टीपीएस आलुको बीउ करिब ४५० रुपैयाँ पर्ने भएकाले किसानले न्यून लागतमा गुणस्तरीय बीउ पाएका छन् ।
बीउ पाउनेमध्येका एक लाभग्राही परमानन्द शिवाकोटीले यसलाई भविष्यको खेतीसँग जोडेर हेरेका छन् । उनले अहिले प्राप्त गरेको एक किलो टीपीएस आलुको बीउ रोपेर अर्को वर्ष १० किलो बीउ उत्पादन गर्ने र त्यसपछि १० कठ्ठा जग्गामा आलुखेती विस्तार गर्ने योजना सुनाए । रोगप्रतिरोधी क्षमता भएको टीपीएस आलुको खेती विस्तार गर्न सके आम्दानीको नयाँ स्रोतसमेत बन्ने उनको अपेक्षा छ ।
वडाका अनुसार हालसम्म करिब ४०० किसानले यो सुविधा प्राप्त गरिसकेका छन् । कार्यक्रममार्फत कम्तीमा ५०० किसानलाई सहभागी गराउने लक्ष्य राखिएको छ । जग्गासम्बन्धी आधिकारिक निस्सा र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिएर आउने योग्य किसानले अझै पनि बीउ प्राप्त गर्न सक्ने वडाले जनाएको छ ।
वडाध्यक्ष फेउदिननका अनुसार कार्यक्रमबारे सार्वजनिक सूचना जारी गरिए पनि सबै किसानसम्म जानकारी पुग्न सकेको छैन । उनले वडाबाट प्रदान गरिने सेवा तथा सुविधाबारे जानकारी लिन र लक्षित कार्यक्रमबाट लाभ लिन वडावासीलाई आग्रह गरेका छन् ।
बीउ वितरणका क्रममा वडाध्यक्ष फेउदिनले आफू उम्मेदवार बनेर गाउँगाउँमा मत माग्न जाँदा गरेका प्रतिबद्धता र आश्वासनसमेत स्मरण गरे । कार्यकाल अब छोटिँदै गएको र आगामी स्थानीय तह निर्वाचनपछि वडाको नेतृत्व कसले गर्ने भन्ने निश्चित नभएको उल्लेख गर्दै उनले नागरिकको मन जित्न पाउँदा खुसी लागेको बताए ।
‘अब हाम्रो कार्यकाल पनि छोटो छ । स्थानीय तहको निर्वाचन भएपछि वडाको नेतृत्व गर्न को आउनुहुन्छ, आउनुहुन्न थाहा छैन । जसरी मत दिएर मलाई विजयी गराउनुभएको थियो, आज तपाईंहरूलाई मन दिएर खुसी बनाउन पाउँदा आफूलाई गर्व लागेको छ,’ उनले भने ।
कृषि कार्यक्रमसँगै वडाले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । लक्षित वर्ग तथा समुदायको उत्थान, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण, खेलकुद प्रवद्र्धन तथा लागूऔषध नियन्त्रणका कार्यक्रमसमेत सञ्चालन भइरहेको वडाको भनाइ छ । यी प्रयासको उद्देश्य वडावासीको जीवनस्तर उकास्नु रहेको वडा सदस्य ज्ञानप्रसाद लुईटेलले बताए ।
वडाबाट प्राप्त सेवाप्रति स्थानीय भद्रकुमारी लावती सन्तुष्ट देखिन्छिन् । उनका अनुसार वडाका नागरिकले स्थानीय सरकारबाट विभिन्न सेवा र सुविधा पाइरहेका छन् ।
‘हामी सन्तुष्ट छौँ । वडाध्यक्ष र उहाँको टिमले वडावासीका लागि गरेको कामले चित्त बुझेको छ,’ उनले भनिन्, ‘अब कार्यकाल पनि धेरै बाँकी छैन । आगामी दिनमा यस्तै क्षमता र काम गर्ने शैली भएको नेतृत्व आउँछ कि आउँदैन, त्यो समयले बताउला ।’
लावतीले वडाको काम गर्ने तौरतरिका, नागरिकसँगको पहुँच, भाषाशैली तथा विकास निर्माणका प्रक्रिया र शिक्षा, स्वास्थ्य एवं कृषिमा पु¥याइएको योगदानलाई नेतृत्वको कार्यसम्पादनसँग जोडेर हेरेकी छन् । उनका अनुसार जनप्रतिनिधिको मूल्याङ्कन भाषणले मात्र होइन, नागरिकले दैनिक जीवनमा अनुभूत गर्ने सेवा, व्यवहार र विकास निर्माणका कामले हुन्छ ।









