कार्तिक २१ मा खुदुनाबारीमा ‘बाबाको बाँसुरी’ प्रदर्शन हुने



1,082 SHARES

अर्जुनधारा । नेपाली कथानक लघु चलचित्र ‘बाबाको बाँसुरी’ झापाको अर्जुनधारा नगरपालिका–२ र ३ स्थिति खुदुनाबारीमा आगामी कार्तिक २१ गते प्रदर्शन हुने भएको छ।

खुदुनाबारीस्थित भोगटे रेस्टुरेन्ट एण्ड छहारीमा आज आयोजित पत्रकार भेटघाटमा चलचित्र निर्माण टोलीले प्रदर्शनको तयारी तीव्र पारिएको जानकारी दिएको हो। चलचित्रका लागि टिकटसमेत खुला गरिएको निर्माता तथा कलाकार पूर्ण सुनारले बताए। चलचित्रको प्रवेश शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

विज्ञापन

आमा–बुबाको माया र साथबाट वञ्चित एक टुहुरो बालकको जीवनकथा, संघर्ष, पीडा, सपना र परिवारप्रतिको मायालाई मुख्य विषयवस्तु बनाएर चलचित्र निर्माण गरिएको निर्माता सुनारले जानकारी दिए। बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र मानवीय संवेदनालाई समेटिएको चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा निर्माण टोलीको छ।

विज्ञापन

पूर्ण सुनारको ब्यानरमा निर्माण भएको एक घण्टा ४५ मिनेट लामो चलचित्र झापाका विभिन्न रमणीय तथा पर्यटकीय स्थलमा छायाङ्कन गरिएको हो। चलचित्रको लेखन तथा निर्देशन कमल लिम्बू ‘लाहुरे’ले गरेका छन्।

चलचित्रमा पूर्ण सुनार, शीतल खनाल, विपिन प्रसाईं, विमा शिवाकोटी, काजी बराइली, राजा कन्दङ्वा, दिलकुमार नेम्वाङ, ओम सेन्चुरी र सनम राजवंशीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता, संगीतकार तथा गीतकारसमेत रहेका सुनारले नै चलचित्रका गीतमा सिर्जनात्मक योगदान दिएका छन्।

चलचित्रको छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् भने पूर्ण सुनार, ममता गुरुङ र यमुना तिवारीले गीतमा स्वर दिएका छन्। द्वन्द्व निर्देशन सुदीप खवासले गरेका छन्।

यसअघि चलचित्रको च्यारिटी प्रदर्शनमार्फत प्राप्त आम्दानीबाट गत भदौ १० गते रसुवामा आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावितलाई सहयोगसमेत गरिएको निर्माण टोलीले जनाएको छ।

खुदुनाबारीमा हुन लागेको प्रदर्शनलाई सफल बनाउन चलचित्र युनिटले सम्पूर्ण खुदुनाबारीवासी तथा चलचित्रप्रेमीलाई उपस्थितिका लागि आग्रह गरेको छ। साथै, चलचित्र हेरेपछि आवश्यक सल्लाह, सुझाव तथा रचनात्मक प्रतिक्रिया दिन पनि निर्माण टोलीले दर्शकसँग अनुरोध गरेको छ। दर्शकबाट प्राप्त प्रतिक्रियाले आगामी सिर्जनात्मक यात्रामा थप ऊर्जा मिल्नुका साथै चलचित्रलाई अझ परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय