वाणिज्य बैंकको ३ महिनाको नाफा १९ अर्ब १४ करोड, ४५ प्रतिशतले वृद्धि



1,076 SHARES

काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालका २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूको यस वर्षको नाफा ६ अर्ब रुपैयाँले बढेको हो।

बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समग्र खुद नाफा ४५.४६ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, नाफा वृद्धिको अवस्था सबै बैंकमा समान छैन। केही बैंकको नाफा उल्लेख्य बढेको छ भने केहीको घटेको छ।

नाफा आर्जनका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। बैंकले असोज मसान्तसम्म २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड रुपैयाँ नाफासहित दोस्रो र राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६५ करोड रुपैयाँसहित तेस्रो स्थानमा छन्।

विज्ञापन

त्यसैगरी एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड र एनएमबी बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन्। यससँगै पहिलो त्रैमासमा एक अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने बैंकको संख्या १० पुगेको छ।

नाफा वृद्धिदरका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार सबैभन्दा उल्लेखनीय देखिएको छ। बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि गत वर्षको ५८ करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुगेको छ। कृषि विकास बैंकले समेत गत वर्षको ५७ करोड ३८ लाख रुपैयाँको तुलनामा बढाएर १ अर्ब ९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ।

यसैगरी गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ। सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख र हिमालयन बैंकले ६८ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख, प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड ८५ लाख र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। सबैभन्दा कम नाफा कमाउने बैंकमध्ये एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

खुद नाफा बढे पनि वितरणयोग्य नाफामा चुनौती

वाणिज्य बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिए पनि त्यसलाई शेयरधनीले प्राप्त गर्ने लाभांश क्षमतासँग समान रूपमा बुझ्न मिल्दैन। वित्तीय विवरणअनुसार बैंकहरूको वितरणयोग्य नाफाको अवस्था भने कमजोर देखिएको छ।

समग्र बैंकिङ क्षेत्रको वितरणयोग्य नाफा करिब ९ अर्ब ७ करोड रुपैयाँ ऋणात्मक रहेको छ। निष्क्रिय कर्जाको जोखिम व्यवस्थापन, सम्भावित कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकम तथा विगतका सञ्चित नोक्सानीले बैंकहरूको लाभांश वितरण क्षमतामा दबाब सिर्जना गरेको देखिन्छ।

यसले बैंकहरूको खुद नाफा बढ्दैमा सबै बैंकले तत्काल लाभांश वितरण गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्छ। त्यसैले पहिलो त्रैमासको वित्तीय अवस्थालाई मूल्याङ्कन गर्दा खुद नाफासँगै वितरणयोग्य नाफा, निष्क्रिय कर्जा र कर्जा नोक्सानी व्यवस्थालाई समेत ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय