|
1,056 SHARES |
झापा । झापाका १५ वटै पालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानमा हालसम्म २ लाख ७० हजार २४८ जनाले खोप लगाएका छन्। असोज ५ गतेदेखि सुरु भएको अभियानमा असोज १२ गतेसम्म लक्ष्यको ५४.८ प्रतिशत प्रगति भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासका अनुसार खोप लगाउनेमध्ये १ लाख ५४ हजार २७३ जना महिला र १ लाख १५ हजार ९७५ जना पुरुष रहेका छन्। अभियानअन्तर्गत ३० देखि ६० वर्ष उमेर समूहका २ लाख ३ हजार ५१६ जना र ६० वर्षभन्दा माथिका ६६ हजार ७३२ जनाले खोप लगाइसकेका छन्।
असोज १४ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका ३० वर्षभन्दा माथिका ४ लाख ९३ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। हालसम्म मेचीनगरमा ४० हजार ३१३, बुद्धशान्तिमा १३ हजार ८८०, अर्जुनधारामा १८ हजार २९, कनकाईमा १७ हजार ९२८, शिवसताक्षीमा २० हजार ७६९, कमलमा १५ हजार ५६९ र दमकमा ३५ हजार ६०५ जनाले खोप लगाएका छन्।
त्यस्तै, गौरादहमा १९ हजार ८३६, गौरीगञ्जमा ११ हजार ७७९, झापा गाउँपालिकामा १२ हजार १०२, बाह्रदशीमा ८ हजार ८५, बिर्तामोडमा २८ हजार ६२६, हल्दिबारीमा ८ हजार ९३८, भद्रपुरमा १० हजार २०५ र कचनकवलमा ८ हजार ५८४ जनाले खोप लगाइसकेको प्रमुख दासले जानकारी दिनुभयो।
झापामा जेईको जोखिम उच्च
स्वास्थ्य कार्यालयका अनुसार झापामा सन् २०२६ को जुनदेखि हालसम्म जापानिज इन्सेफलाइटिसबाट १३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये सातजनाको मृत्यु भएको छ।
मेचीनगरमा मात्रै चारजनामा जेई संक्रमण देखिएकोमा दुईजनाको मृत्यु भएको छ। त्यस्तै, अर्जुनधारा, बाह्रदशी, हल्दिबारी, कचनकवल, भद्रपुर र बिर्तामोडमा जेई संक्रमणका कारण एक–एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
झापामा जेई संक्रमणबाट भएको मृत्यु संख्या देशका जिल्लामध्ये सबैभन्दा बढी रहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ। सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा दुई–दुई जनाको मृत्यु भएको छ भने मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रेपलाञ्चोक, दाङ, तनहुँ, नवलपरासी पश्चिम, कञ्चनपुर र रोल्पामा एक–एक जनाको मृत्यु भएको जनाइएको छ।
झापा र कैलालीमा जेईको रोग दर तथा मृत्युदर उच्च रहेकाले यी जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानअन्तर्गत कनकाईमा २६ हजार, मेचीनगरमा ६४ हजार ८४४, बुद्धशान्तिमा २५ हजार ९३३, अर्जुनधारामा ४१ हजार ३, शिवसताक्षीमा ३६ हजार १७२, कमलमा २६ हजार ३६३, दमकमा ५२ हजार २८३ र गौरादहमा २९ हजार ५५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।
त्यस्तै, गौरीगञ्जमा १७ हजार ४२६, झापा गाउँपालिकामा १९ हजार २७१, बाह्रदशीमा १८ हजार ६१२, बिर्तामोडमा ५६ हजार ६४०, हल्दिबारीमा १६ हजार ७३, भद्रपुरमा ३६ हजार ६३४ र कचनकवलमा २० हजार २५१ जनालाई खोप लगाउने लक्ष्य छ।
यस्तो अवस्थामा खोप नलगाउने
गर्भवती महिला, यसअघि खोप लगाउँदा एनाफाइलेक्सिस भएको व्यक्ति वा खोपमा प्रयोग भएको कुनै तत्वबाट गम्भीर प्रकृतिको एलर्जी भएको अवस्थामा जेई खोप नलगाउन स्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै, ज्वरो आएको अवस्थामा पनि खोप नलगाउने र ज्वरो कम भएपछि वा निको भएपछि खोप लगाउन सकिने जनाइएको छ।
एचआईभी संक्रमण वा एड्स भएका व्यक्तिका हकमा पनि चिकित्सकीय सल्लाहअनुसार मात्र खोप लगाउनुपर्ने जनाइएको छ।
के हो जापानिज इन्सेफलाइटिस ?
जापानिज इन्सेफलाइटिस (जेई) भाइरसबाट हुने संक्रामक रोग हो। यो रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। जेई सार्ने लामखुट्टे बिहान र साँझको समयमा बढी सक्रिय हुने गर्छ।
जेई भाइरसबाट संक्रमित चराचुरुङ्गी तथा सुँगुरलाई टोक्दा लामखुट्टे संक्रमित हुन्छ। संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि मानिसमा जेई संक्रमण हुन सक्छ।










