|
794 SHARES |
अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१ का वडा परिषद् सदस्य मदन लिमेल मगरले आफूले जनप्रतिनिधिका रूपमा प्राप्त गर्दै आएको सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्च गर्दै तीनवटा सामुदायिक विद्यालयमा झन्डा स्तम्भ निर्माण गरी हस्तान्तरण गर्नुभएको छ।
लिमेलले आफू जनप्रतिनिधि भएपछि प्राप्त सेवा सुविधालाई सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यअनुरूप अर्जुनधारा–१ का सिंहदेवी माध्यमिक विद्यालय, गणेश आधारभूत विद्यालय र भीमले आधारभूत विद्यालयमा झन्डा स्तम्भ निर्माण गर्नुभएको हो। उहाँका अनुसार तीनवटै विद्यालयमा झन्डा स्तम्भ निर्माणका लागि करिब ३ लाख रुपैयाँ खर्च भएको छ।
आफ्नी ६ वर्षीया छोरी आकीको लिमेल मगरको जन्मदिनको अवसर पारेर लिमेलले सोमबार तीनवटै विद्यालयमा निर्माण गरिएका झन्डा स्तम्भ हस्तान्तरण गर्नुभएको हो। झन्डा स्तम्भ हस्तान्तरणका अवसरमा सम्बन्धित विद्यालयको आयोजनामा विद्यालय परिसरमै औपचारिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। सोही अवसरमा लिमेलले कक्षा १ देखि ३ सम्म अध्ययनरत तीनवटै विद्यालयका १०४ जना विद्यार्थीलाई कापी, पेन्सिललगायत शैक्षिक सामग्री वितरण गर्नुभएको थियो।
गणेश आधारभूत विद्यालयमा भने लिमेलसँगै विद्यालयका पूर्वविद्यार्थी शंकर भट्टराईले संयुक्त रूपमा झन्डा स्तम्भ निर्माण गर्नुभएको हो।
सोही अवसरमा देवीडाँडा निर्माण सेवा प्रालि, इलामका तर्फबाट लिमेलका साथी नवीन तामाङले गणेश आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई सर्ट, पाइन्ट तथा फरकको कपडासमेत वितरण गर्नुभएको थियो।

लिमेल गणेश आधारभूत विद्यालयको व्यवस्थापन समितिका निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ। उहाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा रहेको कार्यकाल १२ दिनअघि पूरा भएको हो।
जनप्रतिनिधिका रूपमा राज्यबाट प्राप्त हुने सेवा सुविधालाई व्यक्तिगत प्रयोजनमा भन्दा सामाजिक कार्यमा खर्च गर्ने लक्ष्यअनुसार तीनवटै सामुदायिक विद्यालयमा व्यवस्थित झन्डा स्तम्भ निर्माण गरी हस्तान्तरण गरिएको लिमेलले बताउनुभयो।

उहाँले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सेवा सुविधालाई सामाजिक क्षेत्रमा लगानी गर्दा त्यसबाट समुदाय र विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले यस्तो कार्यलाई निरन्तरता दिने बताउनुभएको छ।
लिमेलको यस कार्यप्रति विद्यालय परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीले प्रशंसा गरेका छन्। सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्च गर्दै विद्यालयको शैक्षिक वातावरण सुधारमा योगदान पुर्याएको भन्दै उनीहरूले लिमेलको पहललाई सकारात्मक रूपमा लिएका छन्।










