|
1,377 SHARES |
काठमाडौं । जेनजी आन्दोलनका दुई अगुवा सुडान गुरुङ र रवि किरण हमालले भदौ २७ गतेको घटनालाई लिएर परस्परविरोधी धारणा सार्वजनिक गरेका छन्। गुरुङले भदौ २७ लाई राजनीतिक अन्योल र शक्ति रिक्तताबीच देशलाई निकास दिने ऐतिहासिक दिनका रूपमा व्याख्या गरेका छन् भने हमालले सोही दिनलाई ‘देश जलाउने र हिंसा भड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिन’का रूपमा चित्रण गरेका छन्।
गुरुङका अनुसार भदौ २३ गतेपछि मुलुक अभूतपूर्व राजनीतिक संकटमा पुगेको थियो। स्थापित राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर भइसकेको, पुरानो नेतृत्व स्वीकार्य नरहेको र नयाँ नेतृत्व चयन गर्ने स्पष्ट बाटोसमेत नदेखिएको अवस्थामा देश राजनीतिक अन्योल र शक्ति रिक्तताको अवस्थामा पुगेको उनको भनाइ छ।
लगातार तीन दिनसम्म देश कता जाने, अब कसले निकास दिने र कसको नेतृत्वमा आफूहरू सुरक्षित महसुस गर्न सकिन्छ भन्ने प्रश्नमा अन्योल कायम रहेको गुरुङले बताएका छन्। यस्तो अवस्थामा आफू नागरिकका रूपमा देशले निकास पाउनुपर्ने र राज्य सञ्चालन हुनुपर्ने पक्षमा उभिएको उनको भनाइ छ।
भदौ २७ गते राष्ट्रपति कार्यालय पुगेको प्रसंग स्मरण गर्दै गुरुङले आफू रगतले लतपतिएको ज्याकेटमा रहेको र पानीसमेत नपिई करिब नौ घण्टा प्रतीक्षा गरेको बताएका छन्। बाहिर सिंगो देशले राजनीतिक निकासको प्रतीक्षा गरिरहेका बेला आफूहरू देशलाई खाली हात फर्काउन नहुने अडानमा रहेको उनले बताएका छन्।
अन्ततः सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेपछि आफूले ठूलो जिम्मेवारीको भारी विसाएर हलुका भएको र देशले निकास पाएको अनुभूति गरेको गुरुङको भनाइ छ।
तर, जेनजी आन्दोलनका अर्का अगुवा रवि किरण हमालले भने भदौ २७ गतेको घटनालाई फरक ढंगले व्याख्या गरेका छन्। उनका अनुसार भदौ २७ ‘देश जलाउने र हिंसा भड्काउने शक्तिले सत्ता आफ्नो हातमा लिएको दिन’ हो।
त्यस दिनदेखि जेनजी आन्दोलन मात्र नभई सिंगो देशले हार व्यहोरेको हमालको दाबी छ। सुरक्षा निकाय, निजामती प्रशासन र आन्दोलनकारीसमेत निरीह बनाइएको अवस्थामा आफूले शपथ रोक्न सुरक्षा निकाय, निजामती प्रशासन र राष्ट्रपति कार्यालयसमक्ष आग्रह गरेको उनले बताएका छन्।
‘अन्तिम क्षणसम्म हामीले रोक्न सकिन्छ कि भनेर प्रयास गर्यौँ। तर हामी सकेनौँ,’ हमालले भनेका छन्।
भदौ २७ गते आफूहरूले गरेको प्रयास सफल हुन नसकेको घटनालाई व्यक्तिगत असफलताका रूपमा नलिएको बताउँदै हमालले समयले क्रमशः त्यसबेलाको वास्तविकता पुष्टि गर्दै जाने दाबी गरेका छन्।
जेनजी आन्दोलन त्यसबेला पराजित भए पनि आन्दोलनले उठाएका प्रश्न, आवाज र संघर्ष भने पराजित नभएको उनको भनाइ छ। ‘इतिहासले एक दिन सोध्नेछ—देश जलाएर, हिंसा भड्काएर सत्ता कब्जा गर्दाखेरि कसले रोक्ने प्रयास गर्यो र कसले मौन बसेर सत्ता स्वीकार गर्यो?’ हमालले प्रश्न गरेका छन्।
भदौ २७ गतेको घटनालाई लिएर आन्दोलनका दुई अगुवाबाट आएका यी फरक धारणाले जेनजी आन्दोलनपछिको राजनीतिक संक्रमण र त्यस दिनको भूमिकाबारे उनीहरूबीच रहेको गहिरो मतभिन्नतालाई सतहमा ल्याएको छ।
गुरुङका लागि भदौ २७ कठिन राजनीतिक परिस्थितिबीच देशलाई निकास दिने आवश्यक हस्तक्षेपको दिन हो भने हमालका लागि त्यही दिन जेनजी आन्दोलनसँगै सिंगो देशले राजनीतिक हार व्यहोरेको दिन हो।










