काठमाडौं । मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबार राति ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटमा लोमान्थाङ र तिब्बतको सीमाना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा समेत हल्का महसुस गरिएको उहाँले जानकारी दिनुभयो।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिकाका तीनवटा वडामा अधिकांश घर चर्किएका छन् भने तीनवटा घर भत्किएका छन्। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको उहाँले बताउनुभयो।
भूकम्पपछि पाँच पटक पराकम्प गएको र उपल्लो मुस्ताङका स्थानीयवासी त्रासका कारण रातभर खुला ठाउँमा बसेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो। पराकम्पको जोखिम कायमै रहेकाले स्थानीयवासी अहिले पनि घरभित्र जान डराइरहेको उहाँको भनाइ छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले भूकम्पबाट भएको क्षतिको विवरण संकलन तथा अवस्थाबारे बुझ्न बुधबार बिहानै प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जानकारी दिनुभयो।
प्रहरी टोलीको स्थलगत निरीक्षणपछि भूकम्पबाट भएको भौतिक तथा मानवीय क्षतिको थप विवरण आउने जनाइएको छ।










