|
1,198 SHARES |
बिर्तामोड । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि १८ दिनदेखि बेपत्ता रहेका झापा बिर्तामोडका राजेन आचार्यको परिवारले कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरेको छ।
भदौ १० गते बिहान आएको बाढीपछि बिहान ८ः३२ बजेदेखि सम्पर्कविहीन बनेका बिर्तामोड नगरपालिका–३, बिर्ताबजार रंगशाला टोलका ५२ वर्षीय ‘राजु’ भनिने राजेनको सास वा लास केही पनि फेला नपरेपछि परिवारले आइतबार धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।
राजेनका माइला दाजु दीपक आचार्यका अनुसार लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी प्राप्त नभएपछि धार्मिक विधिअनुसार प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको हो।
राजेन ७९ वर्षीय बाबु शान्तिराम आचार्य र ७५ वर्षीया आमा रोहिणीदेवी आचार्यका पाँच सन्तानमध्ये कान्छा छोरा हुन्। उनका दुई दाजु र दुई दिदी छन्।
राजेन तीन महिनाअघि मात्रै स्याफ्रुवेँसीस्थित २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको कार्यालयमा कर्मचारीका रूपमा कार्यरत थिए। सोही क्रममा भोटेकोशी नदीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।
परिवारले धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरे पनि राजेन जिउँदै फर्किएर आउने आशा भने अझै त्यागेको छैन। अन्तिम संस्कारपछि पनि परिवार उनको प्रतीक्षामा छ।
‘कतैबाट राजेन जिउँदै फर्किएर आउलान् कि’ भन्ने आशा बोकेर आचार्य परिवार अझै उनको बाटो कुरिरहेको छ।










