काठमाडौँ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ। बाढीमा परी अझै ५ हजार ३ सय २६ जना सम्पर्कविहीन रहेका छन्।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढीमा मृत्यु भएकामध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको जनाएको हो।
प्राधिकरणका अनुसार सबैभन्दा बढी शव चितवनमा फेला परेका छन्। चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २३, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
हालसम्म १ सय २ जना मृतकको मात्र सनाखत भएको छ। सनाखत हुन बाँकी मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणित हुने कागजातसहित डीएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले आग्रह गरेको छ।
बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन छन्। तीमध्ये रसुवा जिल्लाका मात्रै २ हजार ८ सय ६० जना रहेका छन्। सम्पर्कविहीन हुनेमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारीसमेत छन्।
प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार भइसकेका व्यक्ति वा पहिचान हुन बाँकी मृतकसमेत समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको जनाएको छ।
हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये ३ सय २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने २ हजार ४ सय २० जना उपचारपछि डिस्चार्ज भएका छन्।
नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सयभन्दा बढी घाइतेको उपचार गरेका छन्। विस्थापितका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती सेन्टरमा ३ हजार ५ सय ३३ जना आश्रित रहेको प्राधिकरणले जनाएको छ।
उद्धार तथा राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन्।
उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरी बलका हेलिकप्टरले १ हजार ४ सयभन्दा बढी पटक उडान भरेका छन्।
सरकारले राहत वितरणलाई समेत तीव्रता दिएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। यस्तै, प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
खाद्यान्न तथा गैरखाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रक प्रयोग भइरहेका छन्। पूर्वाधारतर्फ धादिङमा ९९ दशमलव ८ प्रतिशत, नुवाकोटमा ९६ दशमलव ७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको छ भने ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ।










