झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूको नेतृत्व क्षमता विकास, संस्थागत सुदृढीकरण तथा राष्ट्रिय भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले ‘इक्यान लिडर्स मिट ३.०’ आयोजना गर्ने भएको छ।
इक्यान झापा शाखाको आतिथ्यमा आगामी सेप्टेम्बर १८ देखि २० अर्थात् असोज २ देखि ४ गतेसम्म झापामा कार्यक्रम आयोजना हुन लागेको हो। इक्यानको देशव्यापी नेतृत्वलाई एउटै राष्ट्रिय मञ्चमा ल्याउने उद्देश्यले आयोजना हुँदै आएको लिडर्स मिटको यो तेस्रो संस्करण हो।
कार्यक्रममा इक्यान केन्द्र, शाखा तथा समन्वय संरचनामा रहेका नेतृत्व तहका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेतृत्व विकास, संस्थागत सुशासन, रणनीतिक संवाद, अनुभव आदानप्रदान तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको भूमिकालगायत विषयमा गहन छलफल र अन्तरक्रिया गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा भइरहेको परिवर्तन, विद्यार्थीको विदेश अध्ययन, उच्च शिक्षाका लागि गन्तव्य छनोट, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सम्बन्ध, विद्यार्थी आवागमन, डिजिटल प्रविधि तथा गन्तव्य मुलुकका बदलिँदा शिक्षा र अध्यागमन नीतिका विषयमा छलफल हुनेछ। त्यस्तै शैक्षिक परामर्श व्यवसायलाई थप व्यावसायिक, पारदर्शी र जिम्मेवार बनाउने विषयले समेत प्राथमिकता पाउनेछ।
अन्तर्राष्ट्रिय विद्यार्थी आवागमन विदेशमा अध्ययन गर्ने विषयमा मात्र सीमित नरही मानव पूँजी, सीप, रोजगारी, ज्ञान हस्तान्तरण, आर्थिक गतिविधि तथा अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको व्यापक विश्वव्यापी शैक्षिक आवागमनका रूपमा विकसित भइरहेको सन्दर्भमा नेपालले लिनुपर्ने रणनीतिक भूमिकाबारे पनि कार्यक्रममा बहस गरिनेछ।
इक्यानका अनुसार विद्यार्थीलाई विदेश अध्ययनका लागि परामर्श दिने परम्परागत भूमिकामा मात्र सीमित नभई विद्यार्थी, अभिभावक, नेपाली शैक्षिक संस्था, अन्तर्राष्ट्रिय विश्वविद्यालय, गन्तव्य मुलुकका सम्बन्धित निकाय तथा सरकारबीचको शैक्षिक सम्बन्धलाई जिम्मेवार, पारदर्शी, व्यावसायिक र विश्वसनीय ढंगले व्यवस्थापन गर्ने संस्थागत भूमिका विकास गर्न आवश्यक छ।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा ‘झापा घोषणापत्र’ जारी गर्ने तयारी गरिएको छ। घोषणापत्रमार्फत विश्वव्यापी शैक्षिक आवागमनमा नेपालको वर्तमान अवस्था, सम्भावना, चुनौती, राष्ट्रिय हित तथा आगामी दिशाबारे इक्यानको संस्थागत दृष्टिकोण सार्वजनिक गरिने इक्यान झापा अध्यक्ष राजकुमार कार्कीले बताउनुभयो।
घोषणापत्रमा विद्यार्थी हित, नैतिक व्यावसायिक अभ्यास, संस्थागत उत्तरदायित्व, अन्तर्राष्ट्रिय साझेदारी तथा नीति संवादलगायत विषयलाई प्राथमिकतामा राखिने आयोजकले जनाएको छ।

हाल इक्यानमा ७५० भन्दा बढी सदस्य संस्था आबद्ध रहेको जनाइएको छ। देशभर विस्तार भएका शाखा तथा समन्वय संरचनामार्फत काठमाडौंमा केन्द्रित अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका गतिविधि, अनुभव र अवसरलाई प्रदेश, जिल्ला, शहर तथा विभिन्न शैक्षिक बजारसँग जोड्दै विकेन्द्रित संस्थागत नेतृत्व निर्माणलाई इक्यानले प्राथमिकता दिँदै आएको छ।
झापामा लिडर्स मिट आयोजना हुनुलाई पनि इक्यानले संस्थागत विकेन्द्रीकरणको महत्वपूर्ण अभ्यासका रूपमा लिएको छ। राजधानीबाहिर राष्ट्रिय नेतृत्व संवाद आयोजना गर्दा देशका विभिन्न भूगोलमा विस्तार हुँदै गएको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रलाई एउटै राष्ट्रिय मञ्चमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा देशभरबाट करिब १५० जना नेतृत्व तहका प्रतिनिधि सहभागी हुनेछन्। सहभागीहरूले आ–आफ्ना क्षेत्र र संस्थामा देखिएका चुनौती, अभ्यास, अनुभव तथा सम्भावना साझा गर्दै सफल अभ्यासबाट सिक्ने र त्यसलाई संस्थागत रूपमा विस्तार गर्ने अवसर पाउनेछन्।
बिर्तामोडस्थित द किङ्सबरी होटलमा हुने मुख्य कार्यक्रममा नेतृत्व विकास, सीप, वित्तीय व्यवस्थापन, संस्थागत सुशासन, रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रका समसामयिक विषयमा प्रशिक्षण र गहन अन्तरक्रिया गरिनेछ।
आयोजकका अनुसार ‘इक्यान लिडर्स मिट ३.०’ नेतृत्वबीचको भेटघाटमा मात्र सीमित नभई इक्यानको आगामी संस्थागत यात्राका लागि साझा दृष्टिकोण, प्राथमिकता र रणनीतिक दिशा निर्माण गर्ने राष्ट्रिय मञ्चका रूपमा अघि बढ्नेछ। ‘झापा घोषणापत्र’लाई त्यस यात्राको सार्वजनिक प्रतिबद्धताको दस्तावेजका रूपमा लिइएको छ।










