|
9,000 SHARES |
झापा । झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला झापाको बाह्रदशी गाउँपालिका–१ बोक्राझारी निवासी लखनलाल राजवंशीकी श्रीमती करिब ५० वर्षीया लिला राजवंशीलाई मिति २०८२ फागुन ७ गते बिहान करिब ५ः४५ बजे जंगली हात्तीले आक्रमण गरेको थियो।
घर निर्माणका क्रममा पानी हाल्दै गर्दा नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन, भागुडुब्बाबाट आएको एक जंगली हात्तीले उनलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा मिति २०८२ फागुन १२ गते राति १ः०५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस घटनाले पुनः झापामा मानव–वन्यजन्तु द्वन्द्वको समस्या गम्भीर बन्दै गएको संकेत गरेको छ। वन क्षेत्र आसपासका बस्तीमा जंगली हात्तीको आवतजावत बढ्दै जाँदा स्थानीय बासिन्दा त्रसित बनेका छन्।










