|
9,000 SHARES |
बिर्तामोड। नेकपा एमाले झापा क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीको कार्यक्रमअनुसार फागुन ९ गते बिर्तामोड नगरपालिका–६ र १ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
बिहान ७ बजेदेखि १२:३० बजेसम्म वडा नम्बर ६ मा र दिउँसो १ बजेदेखि वडा नम्बर १ मा उम्मेदवारसहित घरदैलो गरिएको क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीले जानकारी दिनुभयो।
घरदैलोका क्रममा झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा एमाले नेता, पूर्व सभामुख देवराज घिमिरे स्वयं उपस्थित भई मतदातासँग भेटघाट गर्नुभएको थियो।
वडा नम्बर १ मा वडा कमिटी अध्यक्ष सुनिल सिवाकोटीको सहजीकरणमा आयोजित टोलस्तरीय कोणसभामा सूर्यध्वजावाहक उम्मेदवार घिमिरेले जनअपेक्षाअनुसार भौतिक पूर्वाधार विकासका काम पूरा गर्न र मुलुक सञ्चालनका लागि आवश्यक ऐन–नियम निर्माण गर्न पुनः एमालेलाई मत दिन आग्रह गर्नुभयो।
उहाँले आफू पाँच वर्षका लागि निर्वाचित भई कार्यकालभरि सम्पन्न गर्ने योजना बनाएर काम गरिरहेको अवस्थामा संसद् विघटन भई पुनः निर्वाचनमा जानुपरेको उल्लेख गर्दै थालेका अधुरा काम पूरा गर्न पुनः विजयी गराउन आग्रह गर्नुभयो।










