|
9,000 SHARES |
अर्जुनधारा, झापा । झापाको अर्जुनधारा जेसीजको १३औँ पदस्थापन तथा पदहस्तान्तरण कार्यक्रम शनिबार साँझ सम्पन्न भएको छ। सन् २०२६ का लागि निर्वाचित अध्यक्ष विमला भट्टराई नेतृत्वको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरिएको हो।
अर्जुनधारा जेसीजको १२औँ अधिवेशनबाट भट्टराई पहिलोपटक महिला अध्यक्षका रूपमा चयन हुनुभएको हो। एक दशकभन्दा लामो यात्रामा अर्जुनधारा जेसीजले पहिलोपटक महिला नेतृत्व पाएको यो अवसर विशेष रहेको बताइएको छ।
नयाँ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्ष मा प्रजित थापा र उज्ज्वल खरेल, महासचिव मा कला विष्ट, कोषाध्यक्ष मा रञ्जिता दुलाल, कानुनी सल्लाहकार मा रमेश विष्ट चयन हुनुभएको छ। साथै, उपाध्यक्ष पदमा सुरेश गौतम, कमल बाँस्कोटा, मैनादेवी तिवारी र गौरव दाहाल रहेका छन्। कार्यक्रममा सन् २०२६ का सम्पूर्ण टिमलाई पद हस्तान्तरणसहित शपथ ग्रहण गराइएको थियो।
सन् २०१२ मा स्थापना भएको अर्जुनधारा जेसीजमा भट्टराई २०१७ मा साधारण सदस्यका रूपमा प्रवेश गर्नुभएको थियो। उहाँले कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र कार्यकारिणी उपाध्यक्ष हुँदै अध्यक्ष पदमा पुग्नु भएको हो।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाको प्रमुख आतिथ्य तथा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सन् २०२५ का अध्यक्ष वेदनारायण गोदार ले जेसीज चेन हस्तान्तरण गर्दै अध्यक्ष पद सुम्पनुभयो।
१३औँ पदस्थापनको अवसरमा विभिन्न पुरस्कारहरू पनि प्रदान गरिएको थियो। स्व. शेरबहादुर कुँवरको स्मृतिमा स्थापना गरिएको खेलकुद पुरस्कारबाट अग्रज फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ सम्मानित भए। नवराज खड्का स्मृति उत्कृष्ट शिक्षा पुरस्कारबाट विद्यार्थी द्वय बिन्दिया महरा र रिजन नेपाल पुरस्कृत भए। जंगवीर गोदारको स्मृतिमा प्रदान गरिने उत्कृष्ट कलाकारिता पुरस्कारबाट नृत्य क्षेत्रकी नवप्रतिभा स्मृति मगर सम्मानित भएकी छन्।
कार्यक्रममा पूर्व अध्यक्ष तथा सन् २०२५ का प्रमुख सल्लाहकारसमेत रहनुभएका अग्रज पत्रकार दिपिन राई लाई पनि सम्मान गरिएको थियो।










