|
9,000 SHARES |
झापा । नेपाल चिया उत्पादक संघ र श्रमिक ट्रेड युनियनबीच चिया मजदूरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ।
नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईका अनुसार नवौं चरणको वार्तापछि रोजगारदाता र श्रमिक प्रतिनिधि संगठनबीच न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको हो।
सोमवार भद्रपुरस्थित नेपाल चिया उत्पादक संघको कार्यालयमा भएको सहमतिमा संघतर्फबाट वार्ता समिति संयोजक जेपी शर्माले हस्ताक्षर गर्नुभयो। श्रमिकतर्फ नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया मजदूर संघकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले हस्ताक्षर गर्नुभयो।
नयाँ सहमति अनुसार चिया श्रमिकले दैनिक न्यूनतम रु. ५६५ र मासिक न्यूनतम रु. १५ हजार ६९९ पारिश्रमिक पाउनेछन्। यसअघि उनीहरूले दैनिक रु. ५०० र मासिक रु. १३ हजार ८९३ पाउँदै आएका थिए।
सहमति अनुसार दैनिक पारिश्रमिकतर्फ आधारभूत पारिश्रमिकमा रु. ३९ र महंगी भत्तामा रु. २६ वृद्धि भएको छ भने मासिक पारिश्रमिकमा आधारभूत पारिश्रमिक रु. १,१६२ र महंगी भत्ता रु. ६४४ ले बढाइएको छ।
रोजगारदाता र श्रमिकबीच भएको सहमति नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सिफारिस गर्ने तयारी भएको छ। समितिले निर्णय गरी राजपत्रमा प्रकाशित गरेसँगै यो सहमति औपचारिक रूपमा लागू हुने नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष राईले जानकारी दिनुभयो।
दुबै पक्षबीच २०८२ साउन १ गतेदेखि नै पारिश्रमिक वृद्धि लागू गर्ने सहमति भएको छ।
श्रमिक ट्रेड युनियनले पारिश्रमिक वृद्धि माग गर्दै साउन १८ गतेदेखि आन्दोलन थालेपछि वार्ता सुरु भएको थियो। सहमतिसँगै आगामी दुई वर्षका लागि पारिश्रमिक विवाद टुंगिएको छ।
नेपालमै सबैभन्दा बढी चिया बगान रहेका झापामा नियमित र मौसमी गरी दुई खालका मजदूर कार्यरत छन्। नियमित श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने गरी असोज मसान्तसम्म मजदूरको लगत संकलन गर्ने सहमति पनि भएको छ।










