|
819 SHARES |
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरणको कार्यान्वयन मोडालिटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत कार्यक्रमअनुसार सामी कार्यक्रमको कार्यान्वयन प्रक्रिया, सुरक्षित वैदेशिक रोजगारी तथा मनोसामाजिक परामर्श सेवाका विषयमा अभिमुखीकरण गरिएको हो।
बिर्तामोड नगरपालिकामा यसै वर्षदेखि मनोसामाजिक परामर्श सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय तहमै यस्तो सेवा उपलब्ध हुन थालेपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकलाई समयमै परामर्श तथा आवश्यक सहयोग प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय तहमै मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध भएपछि नागरिकमा देखिने मानसिक समस्याको न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले मनोसामाजिक परामर्श सेवामार्फत मानसिक तनाव, चिन्ता, निराशा तथा पारिवारिक र सामाजिक समस्याको समयमै पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता समस्याबाट प्रभावित व्यक्तिलाई आवश्यक परामर्श उपलब्ध गराउनुका साथै उपचार प्रक्रियासम्म पहुँच स्थापित गर्न कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।
नगरपालिकाका अनुसार मनोसामाजिक परामर्श सेवा, सामी कार्यक्रम तथा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी थप जानकारी, परामर्श र आवश्यक सहयोग लिन चाहनेले रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।
कार्यक्रममा सामी प्रदेश कार्यक्रम संयोजक गीता वञ्जारा, जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकी र कार्यक्रम अधिकृत रोहित विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, उपसचिव तिलचन भण्डारीलगायत कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।









