अर्जुनधाराका थप ७ परिवारले पाए जग्गाधनी पुर्जा



713 SHARES

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–११ का थप सात अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई कुल १ बिघा ४ कट्ठा ५ धुर जग्गाको स्वामित्व प्रमाणपत्र प्रदान गरेको हो।

पुर्जा प्राप्त गर्नेमा अर्जुनधारा–११ का सुनिता विक, रेणुका देवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी, बसन्तकुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नाम रहेका छन्। उनीहरूलाई कुल ८ हजार २२४ वर्गमिटर जग्गाको स्वामित्व प्रमाणपत्र उपलब्ध गराइएको हो।

विज्ञापन

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा आयोजित पुर्जा वितरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख खड्गमाया पराजुली, वडा नं. १ का वडाध्यक्ष खगेन्द्र इङ्नामलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता थियो।

विज्ञापन

पुर्जा वितरण गर्दै नगरप्रमुख गोम्देनले नगरपालिकामा जग्गाधनी पुर्जा प्राप्तिका लागि आवेदन दिएका अन्य परिवारको हकमा समेत प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले पुर्जा वितरणको अन्तिम तयारीमा रहेका वडा नं. १, २ र ११ मा दसैँपछि र तिहारअघि पुर्जा वितरण गर्ने तयारी गरिएको बताउनुभयो।

नगरपालिकाको भूमि शाखाका प्रमुख चुडामणि निरौलाका अनुसार हालसम्म अर्जुनधारा नगरपालिकाभरि १४५ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। उहाँका अनुसार अर्जुनधारा–१ का १२५ र वडा नं. २ का ४३ परिवारलाई पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढिरहेको छ। वडा नं. १ मा राजस्व बढी भएका कारण यसअघि पुर्जा वितरण हुन सकेको थिएन।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६२ हजारभन्दा बढीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन्। तीमध्ये भूमिहीन दलिततर्फ २ हजार ८९३, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७२८ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ६६६ जनाले निवेदन दिएका छन्।

जिल्लाका १५ वटै स्थानीय तहको नेतृत्वमा निवेदनमाथि छानबिन भइरहेको पोखरेलले बताउनुभयो। प्रचलित कानुनअनुसार जग्गा प्राप्त गर्न योग्य निवेदकलाई समितिको क्षमताका आधारमा उच्च प्राथमिकताका साथ जग्गाधनी पुर्जा वितरण गरिने उहाँले जानकारी दिनुभयो।

जग्गाधनी पुर्जा प्राप्त गरेका लाभग्राहीहरूले जग्गाको स्वामित्व सुनिश्चित भएकोमा सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Authors

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय