वर्षा नहुँदा धान रोपाइँमा कमी, उत्पादन घट्ने अनुमान



9,000 SHARES

काठमाडौं । मनसुन अनुकूल नहुँदा यस वर्ष मुलुकभर धान रोपाइँमा कमी आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम धान रोपाइँ भएको छ । गत वर्ष यसै समयसम्म मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकोमा यो वर्ष भने ९४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ ।

मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकोमा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३ दशमलव ३ प्रतिशत हो । प्रदेशगत तथ्याङ्कअनुसार कोशी प्रदेशमा गत वर्ष शतप्रतिशत रोपाइँ भए पनि यस वर्ष ९७ दशमलव २४ प्रतिशत मात्रै रोपाइँ भएको छ । मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत धान रोपाइँ भए पनि यस वर्ष ८६ दशमलव ३५ प्रतिशतमा सीमित भएको छ । बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ भएको विभागले जनाएको छ । गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत धान रोपाइँ भए पनि यस वर्ष ९६ दशमलव ६३ प्रतिशत पुगेको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत धान रोपाइँ भएकोमा यस वर्ष ९८ दशमलव ३७ प्रतिशत पुगेको छ । त्यस्तै कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत धान रोपाइँ भए पनि यस वर्ष ९९ दशमलव ७२ प्रतिशत पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा गत वर्ष शतप्रतिशत धान रोपाइँ भए पनि यस वर्ष पनि ९९ दशमलव ७२ प्रतिशत धान रोपाइँ भएको छ ।

विज्ञापन

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार समयमा वर्षा नहुँदा धान रोपाइँमा कमी आएको हो । उहाँले विशेषगरी मधेस प्रदेशमा ढिलो गरी रोपाइँ सम्पन्न भएको र रोपिसकेको धानलाई सिँचाइ सुविधा नपुगेको उल्लेख गर्दै यसले यस वर्ष धान उत्पादनमा कमी ल्याउने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।

विज्ञापन

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष मुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष अर्थात वि.सं. २०८० को तुलनामा गत वर्ष २०८१ मा ४ दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । प्रदेशगत हिसाबले वि.सं. २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।

उत्पादन वृद्धिदर हेर्दा कोशी प्रदेशमा २ दशमलव १६ प्रतिशत, मधेस प्रदेशमा १० दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४ दशमलव ०६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६ दशमलव १९ प्रतिशतले वृद्धि भएको देखिएको छ । तर, बागमती प्रदेशमा १ दशमलव १३ प्रतिशत, गण्डकी प्रदेशमा ३ दशमलव २२ प्रतिशत र कर्णाली प्रदेशमा १० दशमलव ३ प्रतिशतले उत्पादन घटेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय