|
9,000 SHARES |
उन्छेन उन्छेन
होमोसेपियन्स महायात्रामा आइपुगेको हो
मुजिङ्ना खेयोङ्ना
लाहादङना सुहाम्फेबा
लालाबेन सुसुबेन
यहि भुमी फक्ताङ्लुङ मुनि
र बसाएको हो सावायेतहाङ गाउँ
निर्माण गरेको हो हजारौं वर्षमा
याक्थुङहरुले त्यहीँ इम्बिरी इङ्धाँवा तमोर सभ्यता
त्यही हो पहिलो घर बनाएको
खोजेर कापे रुख जङ्गलबाट
चेलिको खसेर काइयो खाँबाको खाडलमा
किचिएर मरेकी हुन टिप्दा काइयो
र बनेकी हुन पहिलो मुल खाँबाकी देवि
त्यही हो केलाङ नाचेर जोगाएको घरको समृद्धि
र भनेको हो च्याब्रुङको आदिम सँगीतले पृथ्वीलाई
यहिँबाट नृत्यमग्न पाइतालाहरुले केलाङको गहिरो सङगीतसँगै याक्थुङहरुको महायात्रा
यसअघि छुट्टेर बनेको हो पारुहाङ सुम्निमा
सँगै आएको हो यहाँसम्म सारा किरातिहरु
सिसेरा याक्थुङमाले चलाएर धनुकाण सिकारमा
जुरेली चरासँग लिएर उमारेको हो गाँडबाट अन्न प्रथम पटक
र निर्माण गरेको हो यालाक्मा धान माड्ने गीत
धपाउन चरालाई हा मा हा जोगाउदै अन्न
यहिँबाट निर्माण भैगएका हुन आदिम सभ्यताको केन्द्र यकहरु
तान बुन्दै पालाम गाउँदै हाक्पारे गाउँदै फाक सुँगुर पक्डिदै
चराचर जगतसँग भोगविलास गर्दै
खोलाखोल्सिमा पाहा तितेमाछा मार्दै हुर्काउदै तरुल भ्याकुर खन्दै खाँदै
अल्लोको धागो निकाल्दै घैया उमार्दै
किनिमा बनाउँदै याङबेन झ्याउ टिप्दै जाँड बनाउँदै सिँजवा पार्दै
खोलानाला पुज्दै तङसिङ राख्दै
साम्बा येबा येमा फेजिरी फेदाङमा नाच्दै मुन्धुम फलाक्दै
तीन त्याली बाचा सात त्याली बाचा सिलाम साक्मा
मृत्युको बाटो छेक्दै
मानव चोलामा युमा प्रकट भएर
जैजिते खलबलेको बनेर प्रेमिका
हेमानको सल्लाको रुखबाट बनेको खाटमा गरेर सयन
ओल्लो डाँडादेखि पल्लो डाँडासम्म तानको तानेर धागो
ईर्ष्या आँखी डाहि जलनको निभाएर भुमिका
अहिङ्सा सत्कर्मको देखाउँदै बाटो
त्यहीँ मुकुम्लुङ पाथिभरा सेमुक्ती कोक्माको ओढारमा
अलप भै गइन निरन्तर आठदिन गरेर तपस्या
कुनै साम्बालाई सपनामा निरन्तर बोलाएर अग्निको ज्वालाले त्यही गुफाबाट
उनैलाई दर्शन भएको हो युमाको यहि गुफामा
सुनेकै हो गुरुङ गोठालाको भेडा हराएर भेडा अर्पण गर्दा
प्राप्त गरेको भेडाको मिथकिय कथा
पछि पाथी जस्तो भरिएको डाँडालाई भनेको हो पाथिभरा
त्यही बिराजमान छिन याकथुङहरुको परम आराध्यदेवि युमा
उनैको आराधनाले निर्माण गर्दै आएको हो याकथुङ सभ्यता
त्यही छ भैरुङ पाती सुनपाती मगमगाउँदै
त्यहीँ छ लौठसल्ला अमुल्य त्यहिँ छ २२ प्रजाति गुराँस चाँप
त्यही छ वन्यजन्तु अनेक
पर्यावरणको अद्वित्य सङ्गम
सयौं सयौं वर्षमा बनेको हो त्यो ढुंगाको अक्करिलो उकालो
त्यहीँ हो अनेक रमाइलो पदयात्राको अनुपम नमुना
जो भेटिन्छ कठिन यात्राले शिखरमा आध्यात्मको पराभौतिक आनन्द
देखिन्छ अग्लो तपस्वी रुखहरु होचो देखिदै गएको टुप्पामा
बतासले साउती मारेको झ्याउ भरिएको बुट्यानसित
हजारौं वर्षदेखि पहरालाई जकडेर बाँचेको अनेक अनेक आकृतिको रुख
कस्तो अलौकिक आनन्द हुन्छ घुम्ती नाघेर बिसाउँदा ढुङ्गामा
पहिले पहिले लिन्थे मानिसहरू युमासँग सापटी नगद गरेर तमसुक लिखत
कतिको गाउँ नै बगायो नतिर्दा कबुलको नगद
अचम्मको आहान जोडिन्छ अनेक कथा मिथक
उद्योगिको ब्यापार नहुने केवलकारले भनेकै छैन कसैले
बुझ्नुपर्छ सयौं भरियाहरु सानो ब्यापारीहरु बाँचेको छ अहिले
हजारौं काटिएर गुराँसको रुख उमृन्छ आँसुको बिद्रोह
एउटा पुँजीपतिलाई के मतलब यी सारा गुराँसको आँसु
चम्किरहेको छ सरकार जो कमिसनको रेडकार्पेटमा उभिएको छ
कतिलाई यतिमात्र थाहा छ पुगौँ सजिलै टुप्पामा
हानौँ सेल्फी बिताउ घन्टौं फोहोर गरौं अग्लाइमा
चढाउँ प्रदुषित भक्ति प्रेमराग गरौं त्यहाँ अब बन्ने रेस्टुँरामा
रुपान्तरित गरिदिउ युमालाई डेटिङ स्पटमा
जति चढ्छ मनुष्य उति बढ्छ कम्पनी मुनाफा
धेरैले जिउनु सजिलै कि हुनु मात्रै एक असाध्य सम्पन्न
भनिरहेको हो याकथुङहरुले यो मात्रै हाम्रो सांस्कृतिक
अस्तित्वको पराऐतिहासिक पवित्र मुन्धुमी थलो
जो बनेको छ संस्कृती साझा
जो संविधानले भनिरहेको हो स्वायत्त सांस्कृतिक अधिकार
जहाँ जाऊ हिँडेर निस्फिक्री गर्दैन विभेद देवताले
छोडिदेउ यसलाई प्राकृतिक स्वरुपमा जसरी प्राकृतिक छन् देवस्थलहरु संसारभरिका
आजपनि उस्तै छ जेरुसलम उस्तै छ मक्का मदिना
उस्तै छ बागमति उस्तै छ स्वयम्भू पशुपति
उस्तै छ केदारनाथ उस्तै छ कैलास पर्वत
उस्तै छ प्रयाग गङ्गा किनार
वर्जित छ आधुनिक प्रविधिको प्रयोग अतिचार
पुज्न देउ प्रकृतिलाई प्रकृतिकै आत्माले
सुहाउँदैन कृतिम जलपहरु युमा माङ पुकार्दा
पुग्दैन विधि विधान ऐशमा रमेर तागेरा निङवाफुमाङ पुकार्दा
प्रविधिले उत्पन्न भएकै होइनन् साम्बा येमा येबा फेजिरी फेदाङ्मा नाकछुङ फेम्बो माङ्बा
उनिहरु त नाङ्गो पैताला खाम्बेक लाजे माटोसँग छोएर बोल्छन्
पृथ्वीसित स्पर्श गरेर चराचर जगत र ईश्वरसँग हुन्छन संवादमा
रनवन घुम्दै झरना खोला खोल्सी डुल्दै चरा मृग बाघ भालु किटपतङ्गसँग बात मार्दै गर्छन् सृष्टिको गायन
मन पर्छ उनिहरुलाई अडेरी काँडा तितेपातिको जङ्गल फलाक्न मुन्धुम
फच्याङ घारी वर्णन गर्न सभ्यताको
खेल्छन् मृत देहसँग जो छुटीगएको खुस बेखुस आत्मा हुन्
फिर्छन् उँभो उँभो आत्माको सिमाना लाएर चोत्लुङ उभ्याउँदै
संसार तिमिले भनिआएको प्रविधिमा मात्रै छ भन्नू
अरुले तिमिलाई भन्नू हो महा मुर्ख
हो तिमी हामीलाई अन्धविश्वासि ढोँगि पश्चगामी भन्छौं
भन्नलाई शब्दहरु भनेरै जिवित छन्
बुद्धलाई अरुले तेसै भनेका थिए जब उनी दरवार त्यागेर बुद्ध बन्न निक्ले
देख्यौ नि संसारको हजारौं साधु मनुष्यहरु कडक यो ठण्डिमा गरे स्नान महाकुम्भ
तिमी जान्नु छैन मात्रै अस्तित्व पैसामा
कति अनवरत हाम्रो अमुर्त चिन्तनमा अडिएर उभिन्छ
बाँच्नुको अर्थ
तिमी छक्क पर्लाउ सयौं वर्ष पछि बनाए इज्रायल यहुदिहरुले
जो हिटलरको प्रतिसोधमा पिसिएर भएका थिए चोक्टा चोक्टा
थिए माटो बिहिन बेठेगान
हारेनन् कहिल्यै सपनादेखि
थाहा छ यो सबलाई
दुखाएर चित्त अरुको बनेको सृजना कथा हो आँसुको
थुप्रो हो इर्ष्याको
तन्किन्छ लामो कथा आँसुको
नबन्नु जङ्ग बहादुर नबन्नु अट्टेरी महाराज निप्रश्न
बनाउँने भए अलैंची प्रसोधन केन्द्र बनाउँनु
कैयौं अघिदेखि भनी आएको लोकल कोदोको रक्सी ब्राण्डिङ बनाउँनु
कोदोको जाँड बनाउँनु र बेच्नु संसारलाई
बनाउनु इस्कुस किवि सिमल तरुलको परिकार पेय पदार्थ
बनाउँनु कोदोको अनेक खाद्य परिकार
बनाउनु अत्याधुनिक एआइ कम्पुटिङ केन्द्र
हाँक दिनु संसारलाई आवोस् न युरोपेलीहरु काम गर्न तिम्रो कम्पनिमा
तेतै कतै भव्य युमा पार्क बनाउँनु र सँसारलाई घुमाउँनु
पहाडको बाँसको सामान बनाउँनु र बेच्नु दुनियाँलाई
उत्पादन गर्नु हाइपर सोनिक हाइड्रोजन बिद्युतिय इन्जिनहरु बेच्नु दुनियाँलाई
भनिरहेका छन मान्छेहरु
सत्ता र साहुलाई सजिलो चाहिएको छ मात्रै सजिलो
झर्ने सित्तैमा पैसा
आसेपासे सुँघेर गन्ध उभिएका छन् पैसाको
बैङक तेसैमा हौसिएको छ खसाल्न थैलि
केही अल्छेहरु हौसिएका छन् बुर्कुसी मारेर
राज्य आफू सत्तामा हुँदा बनाएको नक्सा देखाएर पर्खिरहेको छ कुर्लन
सरकारले त सोध्नु नि जनताको असन्तुष्टिको कारण
सोध्नु नि जनताको मन्जुरीको देउरालि
जसरी बाउले बच्चालाई सोध्छ
दु:ख सुखमा सँगै जिउन सघाउँछ
गोलि ठोक्दै त रातमा डाकाहरु आउँछन्
बिचार नमिल्नेलाई निमोठ्दै आउँछन आतंककारीहरु
सरकार त आउनुपर्छ सुमसुम्याउदै जनताको घाउहरु
कुरै नसुन्नेलाई कसरी भन्नू पृय मान्छे
प्रिय मानिसहरु त अरुको मन भाँच्दैनन्
तिमिले भन्यौ
यो भन्दा अघिकोहरुसँग थिएन हामीलाई हेर्ने आँखा
थिएन हामीलाई सुन्ने कान
थिएन हाम्रो पक्षमा बोल्ने जिब्रो
थिएन हाम्रो बारेमा सोच्ने गिदि
तिमिले अब छ भन्यौ र हामिले पत्यायौं तिमिलाई सरकार
तर हाम्रो विरुद्ध आँखा चिम्लियौ
तिम्रो जिब्रो बटारियो र तिम्रो कान बहिरो भयो
तिम्रो गिदिमा यति बिसाक्तता भरियो
किन तिम्रो राज्यमा एकाएक तिमिले मन पराएकाहरु मात्रै बाँच्न पाउँने भयो
यो शताब्दिकै महान प्रथम दोस्रो युद्ध लडेर नेपाल चिनाउने बस्छन् आदिवासि यहीँ
नेपाल बन्नु अघि लिम्बुवानको राज्य बनेको हो यहीँ
यो देशको एकीकरणमा पृथ्वीनारायणसँग समान सन्धि
गर्ने माटो हो यो
नेपाललाई मुक्त गराउँन राणाहरुबाट प्रजातान्त्रीक सेनानी जन्माउने भुमी हो यहीँ
बृटिष लाहुरेमा भएर भर्ती भित्र्याउने सभ्यता राख्ने दौत्य सम्बन्ध बस्छन याक्थुङहरु यहीँ
तब कसरी उसको पवित्र युमा स्थल यो देशको भएन
यो देशको हर क्रान्तिमा अग्रगामी मोर्चामा उभियो यो सभ्यता लिम्बुवान
सिक्किमले हान्दा ढाल भएर उभियो यो भुमी
कुटनितिले जोगायो यो देश सिमाना भएर पूर्वमा
कहिल्यै बढेन साम्राज्यवादी भएर पश्चिम भुमिमा
जब भित्रियो गोर्खाली सेना लिम्बुवान भुमिमा तब बन्यो मिश्रित समाज
त्यहीँदेखि बनेको हो लिम्बुवानी सँस्कृति साझा सँस्कृति
एउटा इतर लिम्बू उत्रिदा धामी फलाक्छ याक्थुङ पानमा जाति सबैले अपनाएको हो याकथुङ लोक सँस्कृति प्रेमले
त्यसैले मुकुमलुङ होइन मात्र याकथुङको
बनेकोछ सँस्कृती साझा राष्ट्रको
यो आग्रह मात्र मौलिकताको हो माटोको प्रेमको हो
आफ्नो प्रेमको हो
हजारौं वर्षदेखि याकथुङ्हरु किरातिहरु तमुहरु नेवाहरु मगरातहरु ताम्सालिङहरु हुम्लेलिहरु डोल्पोहरु मस्टोहरु
यो पहाडको डिलैडिल आफ्नै लयमा छन्
बिना डाहा र ईर्ष्या यो माटोको गीत गाइरहेका छन्
जसरी अरु आ-आफ्नो लयमा छन्
हामी हाम्रो भावनाको फिजाउँछौं बिस्कुन निर्धक्क
उत्तरी पूर्वी सिमानामा उभिन्छौं खम्बाझैं
भन्न पाउनुपर्छ जोगाउँछु म मेरो पर्यावरण स्वयम्
गाउँछु म यो माटोको असली गीत
छान्न सक्छु म मेरो प्राकृतिक पृत
पाउनु पर्छ होइन भन्न तिम्रो घिर्लिङ्गे नक्कली हित
जावोस ज्यान बरु छोड्दैन भुमिपुत्र यो माटोको जीत
कसरी सकिन्छ हेर्न डढेलो आफैलाई पुजिवादको अगेनामा जलेको
कसरी सहिन्छ संस्कृति आफ्नो पुजीवादमा ढलेको

मुनाराज शेर्मा
लेखक










