झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने



744 SHARES

बिर्तामोड । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज खेल तालिका सार्वजनिक गरेको हो ।

आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेल आयोजकको झापा ११ फुटबल क्लबको महिला टिम र आरएस पोखरा फुटबल क्लबबीच हुनेछ ।

त्यस्तै, दोस्रो खेल मंसिर ६ गते त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध भारत नयाँ दिल्लीको एभी फुटबल क्लबले खेल्नेछ । झापा महिला गोल्डकपको तेस्रो खेल मंसिर ७ गते एपिएफ फुटबल क्लबसँग भुटानको थिम्पु राभेन वुमेन्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

विज्ञापन

चौथो खेल मंसिर ८ गते नेपाल पुलिस फुटबल क्लबले बागमती युथ क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मंसिर ९ गते हुनेछ भने अन्तिम सेमिफाइनल खेल मंसिर १० गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल मंसिर १२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ, ट्रफी र मेडल तथा उपविजेताले नगद ५ लाख ५० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले वृद्धि गरिएको अध्यक्ष सन्तोष थोप्रा लिम्बुले बताए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद १५ हजाार र ट्रफी पाउनेछ ।
प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो । यसपटक भारत र भुटानका टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रियस्तरको बनाउने अपेक्षा आयोजकले गरेको छ ।

अध्यक्ष थोप्राका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी जनजाति दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ । खेलका लागि १०० रुपैयाँदेखि ५०० रुपैयाँ टिकट दर राखिएको छ । एक हजार रुपैयाँको भिआइपी टिकट कायम गरिएको छ ।

दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउन मैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी बलियो अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रत्येक खेलमा करिब ७ हजार दर्शक अटाउन सक्नेगरी प्यारापिटको व्यवस्था मिलाइएको छ ।

त्यस्तै, प्रतियोगितालाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष थोप्राले जानकारी दिए । खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ । गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय