४२ वर्षपछि झापामा दोस्रोपटक कोटी हवन हुँदै, सुनको हलोले गरिने भूमिपूजन



769 SHARES

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित धार्मिक तथा पौराणिक महत्त्व बोकेको शताक्षी धाममा ४२ वर्षपछि दोस्रोपटक गायत्री कोटी हवन महायज्ञ आयोजना हुने भएको छ। गोलोक गोवर्धन गौशालाको आयोजनामा आगामी २०८३ माघ ९ गतेदेखि सञ्चालन हुने सतकुण्डीय गायत्री कोटी हवनको मुख्य हवन कुण्ड सुनको हलोले खनेर भूमिपूजन गरिने भएको हो।

ऐतिहासिक धार्मिक अनुष्ठानको भूमिपूजन मङ्सिर ५ गते बिहान ११ बजे विश्वका विभिन्न देशबाट आउने सन्तमहात्माको उपस्थितिमा गरिने गोलोक गोवर्धन गौशालाका संरक्षकसमेत रहेका अध्यक्ष आचार्य नन्दकिशोरजी महाराजले जानकारी दिए।

उनका अनुसार भूमिपूजन कार्यक्रममा अमेरिका, क्यानडा, अस्ट्रेलिया, भारत, भुटान र नेपालका धार्मिक गुरुहरूको सहभागिता रहनेछ। सुनको हलोबाट हवन कुण्ड निर्माणस्थलको भूमिपूजन गरिने कार्यक्रमलाई महायज्ञको विशेष आकर्षणका रूपमा लिइएको छ।

विज्ञापन

यसअघि २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधामस्थित कोटीहोम क्षेत्रमा बृहत् कोटीहोम महायज्ञ आयोजना भएको थियो। उक्त महायज्ञमा एक करोड गायत्री मन्त्रद्वारा होम गरिएको थियो। त्यसको ४२ वर्षपछि झापामा पुनः कोटी हवन आयोजना हुन लागेको आयोजकले जनाएको छ।

महायज्ञको तयारी तथा व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले मङ्गलबार गौशाला परिसरमा विद्वत् वर्गको भेला आयोजना गरिएको थियो। भेलामा विगतका धार्मिक अनुष्ठानको समीक्षा गर्दै राम्रा अभ्यासलाई निरन्तरता दिने र विगतमा देखिएका कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा सहभागीले जोड दिएका थिए।

भेलामा झापाका व्यवसायी लीला चिमरियाले यसपटक भक्तजन तथा सहभागीका लागि पिउने पानी, विद्युत्, सञ्चार, आवास र शौचालयलगायत आधारभूत सुविधाको पर्याप्त व्यवस्था गर्नुपर्ने बताए। अघिल्लो १०८ कुण्डीय कोटी हवनका क्रममा आयोजकले भोगेका व्यवस्थापकीय असहजता पुनः दोहोरिन नदिन समयमै तयारी गर्नुपर्ने उनको सुझाव थियो।

धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको शताक्षी धाममा २०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएको हो। हाल गौशालामा दुई हजार पाँच सयभन्दा बढी गाईको संरक्षण भइरहेको छ। गौशाला स्थापनापछि धाम परिसरमा दर्जनौँ मठमन्दिर तथा देवालय, अतिथि गृह, सुविधासम्पन्न गौशाला, रामदरबार र द्वादश ज्योतिर्लिङ्गलगायतका धार्मिक संरचना निर्माण भएका छन्।

त्यसैगरी सडक कालोपत्रे, विद्युत् र खानेपानीजस्ता आधारभूत पूर्वाधारको विस्तारले पनि धाम क्षेत्रको विकासमा सहयोग पुगेको छ। सन्तमहात्माको नियमित आवागमन र धार्मिक गतिविधि बढ्दै जाँदा शताक्षी धाम धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको स्थानीयको भनाइ छ।

स्थानीय कपिलमणि पोखरेलले आचार्य नन्दकिशोरजी महाराजको आगमनपछि शताक्षी धाम क्षेत्रको विकासले नयाँ गति लिएको बताए। सन्तमहात्मा तथा धार्मिक व्यक्तित्वहरूको नियमित उपस्थितिले यस क्षेत्रको धार्मिक पहिचान विस्तार र पर्यटन प्रवर्द्धनमा योगदान पुगेको उनको भनाइ छ।

सतकुण्डीय गायत्री कोटी हवनको आयोजनाले शताक्षी धामको धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय