|
716 SHARES |
बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा आयोजना हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई लक्षित गरी दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट निर्माण गरिएको छ। रिङलक प्रविधिमा आधारित उक्त प्यारापिट नेपालमै पहिलोपटक महिला गोल्डकपमा प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ।
मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि रङ्गशालाको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरेर प्यारापिट तयार पारिएको हो। झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले प्रतियोगितालाई थप व्यवस्थित र आकर्षक बनाउन आधुनिक प्रविधिको प्यारापिट जडान गरिएको जानकारी दिनुभयो।
प्यारापिटका सञ्चालक सुमन भण्डारीका अनुसार छ तहको संरचनामा दर्शकले बसेर खेल हेर्नुका साथै उभिएर हुटिङ गर्दै खेलाडीको हौसला बढाउन सक्नेछन्। संरचनामा प्रयोग गरिएको ६ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म भार धान्न सक्ने उहाँको दाबी छ।
आवश्यकताअनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यत्र लैजान सकिने भएकाले रिङलक प्रविधिको प्यारापिट ठूला खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा सङ्गीतिक प्रस्तुतिका लागि उपयोगी मानिन्छ। स्थायी संरचना निर्माण नगरी आवश्यकताअनुसार दर्शकदीर्घा तयार गर्न सकिने यसको विशेषता हो।
भण्डारीका अनुसार प्यारापिटको इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भ¥याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको छ। प्रतियोगिता र फाइनल खेल सम्पन्न भएपछि संरचना फुकालेर अन्यत्र लैजाने तयारी छ।
दुधे रङ्गशालाको पश्चिमतर्फ स्थायी प्यारापिट रहेको छ भने पूर्वतर्फ रिङलक प्रविधिको अस्थायी प्यारापिट निर्माण गरिएको हो। उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिट बनाउने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ। दर्शक क्षमता विस्तारसँगै उनीहरूको सहज आवागमन र व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ।
अध्यक्ष थोप्राका अनुसार यस वर्ष टिकट व्यवस्थापन, दर्शक प्रवेश तथा निकास, पार्किङ र सुरक्षा व्यवस्थामा विशेष कडाइ गरिनेछ। विगतका प्रतियोगितामा देखिएका कमजोरी सुधार गर्दै व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ रणनीति अपनाउन लागिएको उहाँले बताउनुभयो।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। नेपाल, भारत र भुटानलगायतका देशका आठ टोली सहभागी हुने प्रतियोगिताको फाइनल खेल मंसिर १२ गते हुने सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिनुभयो।









