शिवसताक्षीमा १० हजार सयपत्रीका बिरुवा तिहारका लागी तयार, तीन लाख आम्दानीको लक्ष्य



1,011 SHARES

सरोज भट्टराई, शिवसताक्षी । तिहार नजिकिँदै गर्दा झापाको शिवसताक्षी नगरपालिका–१० ट्याक्रममा सयपत्री फूल ढकमक्क फुलेका छन् । तिहारलाई लक्षित गरी स्थानीय महिला दिदीबहिनीहरूले सामूहिक रूपमा गरेको फूलखेतीले बारी पहेँलपुर बनेको छ । फूलखेतीबाट यस वर्ष दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्यसहित अघि बढेका महिला किसान उत्पादन र बिक्रीको तयारीमा जुटेका छन् ।

‘सयपत्री फूल कृषक आमा समूह’ गठन गरेर स्थानीय महिलाहरूले ६ कठ्ठा क्षेत्रफलमा करिब १० हजार सयपत्रीका बिरुवा रोपेका छन् । तिहारमा फूल र मालाको माग उच्च हुने भएकाले समूहले यसलाई आम्दानीको अवसरका रूपमा लिएको हो । सामूहिक रूपमा गरिएको खेतीले महिलाहरूलाई आयआर्जनसँग जोड्नुका साथै व्यावसायिक कृषितर्फ आकर्षित गरेको छ ।

विज्ञापन

समूहकी संयोजक कविता बस्नेतका अनुसार करिब २५ हजार रुपैयाँको लागतमा सुरु गरिएको फूलखेतीबाट यस वर्ष राम्रो प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ । बिरुवामा फूल राम्रोसँग फुलेपछि समूहका सदस्यहरू उत्साहित बनेका छन् ।

विज्ञापन

‘फूलखेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरेका छौँ,’ बस्नेतले भनिन्, ‘यस वर्ष सयपत्री फूल बिक्रीबाट मात्रै दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेका छौँ ।’

मौसममा हुन सक्ने प्रतिकूलतालाई ध्यानमा राख्दै समूहले फूलको संरक्षण र भण्डारणको तयारीसमेत गरेको छ । मौसम पूर्वानुमानअनुसार वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै फुलेका फूल खेर जान नदिन माला उनेर शीतभण्डारमा राख्ने योजना बनाइएको बस्नेतले जानकारी दिइन् ।

समूहका सदस्यहरूले आफैँ माला उनेर बजारमा बिक्री गर्ने तयारी गरेका छन् । यसबाट फूल बिक्रीसँगै मालाको तयारीमा समेत स्थानीय महिलाहरूले रोजगारी र आम्दानीको अवसर पाउने अपेक्षा गरिएको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय स्तरमा फूलखेती विस्तार हुनुले महिला किसानको आयआर्जन बढाउनुका साथै तिहारका बेला बाहिरबाट फूल ल्याउनुपर्ने निर्भरता घटाउन सहयोग पुग्ने बताए । उनका अनुसार उत्पादित फूलबाट तयार गरिने एउटा माला १ सयदेखि १५० रुपैयाँसम्ममा बिक्री गर्ने योजना छ ।

नगरप्रमुख थोप्राका अनुसार फूलखेतीलाई प्रोत्साहन गर्न नगरपालिकाले बिरुवा खरिदमा समेत सहयोग गरेको थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बजार व्यवस्थापन गर्न सके किसानले उचित मूल्य पाउने र बाहिरबाट आयात हुने फूलको निर्भरता कम गर्न सकिने उनको भनाइ छ । आगामी दिनमा फूलखेतीलाई थप क्षेत्रफलमा विस्तार गरी व्यावसायिक रूपमा अघि बढाउन सके नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले महिलाहरूले फूलखेती गर्ने योजना सुनाएपछि समूह गठन गरी दर्ता गरेर वैधानिक रूपमा खेती गर्न सुझाव दिएको बताइन् । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले फूलखेतीको निरन्तर अनुगमन र प्रोत्साहनमा आफूहरू लागिरहेको उनले जानकारी दिइन् ।

तिहारमा सयपत्री फूलको माला, घर सजावट र पूजाआजाका लागि विशेष माग हुने गर्छ । यही मागलाई लक्षित गरी गरिएको सामूहिक फूलखेतीले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै महिला उद्यमशीलता प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

उत्पादित फूलको उचित भण्डारण, बजार व्यवस्थापन र खेती विस्तारमा ध्यान दिन सके शिवसताक्षीका महिला किसानका लागि सयपत्री फूलखेती दिगो आयआर्जनको माध्यम बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय