झापा महिला गोल्डकप मंसिर ५ देखि, विजेतालाई ११ लाख पुरस्कार



1,033 SHARES

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा मंसिर ५ देखि १२ गतेसम्म दोस्रो संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

आयोजक झापा महिला गोल्डकप समितिले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। उपविजेता टोलीले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

विज्ञापन

प्रतियोगितामा नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ। भारत र भुटानबाट एक–एक टोली तथा नेपालका ‘ए’ डिभिजन क्लबबाट दुई टोलीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

विज्ञापन

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता आयोजना गर्न दुधे रंगशालाको स्तरोन्नति तथा बाँसको अस्थायी प्यारापिट निर्माण भइरहेको आयोजकले जनाएको छ। यी काम कात्तिकको तेस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

झापालाई महिला फुटबलको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रा लिम्बूले बताए। महिला खेलाडीलाई प्रोत्साहन गर्नु, नयाँ प्रतिभा उत्पादन गर्नु र ग्रासरुट तहदेखि नियमित प्रशिक्षणको वातावरण बनाउनु प्रतियोगिताको प्रमुख लक्ष्य रहेको उनले जानकारी दिए।

प्रतियोगिताबाट सामाजिक सेवामा समेत योगदान गर्ने उद्देश्यले टिकट बिक्रीको प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिकाले अध्ययन गर्ने एक विद्यालयलाई प्रदान गरिने अध्यक्ष लिम्बूले बताए।

प्रतियोगितालाई सफल बनाउन आयोजकले झापाका उद्योगी, व्यवसायी, खेलप्रेमी तथा सञ्चारमाध्यमसँग सहयोगको अपिल गरेको छ। प्रतियोगिताका संरक्षकमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रासहित नगरका जनप्रतिनिधि रहेका छन्। खेलकुद पत्रकार हिमाल खरेलको नेतृत्वमा प्रतियोगिता सञ्चालनका लागि सचिवालयसमेत गठन गरिएको छ।

पत्रकार सम्मेलनमा नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की र झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङलगायतले प्रतियोगिताको तयारीबारे धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय