अर्जुनधाराको मदनपुरमा स्वास्थ्य, शिक्षा र धर्मका तीन संरचना समुदायलाई हस्तान्तरण



1,023 SHARES

अर्जुनधारा । स्वास्थ्य सेवा, पठन संस्कृतिको विकास र धार्मिक गतिविधिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित झापाको अर्जुनधारा नगरपालिका–१, मदनपुरमा निर्माण गरिएका तीनवटा संरचना समुदायलाई हस्तान्तरण गरिएको छ। वसुन्धरा मान स्वास्थ्य केन्द्र, दुबसु पुस्तकालय र वसुन्धरा मान मन्दिर बुधबार उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, अध्ययन तथा ज्ञान आर्जनका लागि अवसर सिर्जना गर्ने र धार्मिक–सांस्कृतिक गतिविधिलाई व्यवस्थित बनाउने लक्ष्यसहित निर्माण गरिएका यी संरचनाले स्थानीय समुदायको आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

विज्ञापन

तीनवटै संरचनाको उद्घाटन समारोह प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरको प्रमुख आतिथ्य तथा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बेलायत तथा जापानका लागि पूर्वराजदूत एवं वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो।

विज्ञापन

उद्घाटनसँगै निःशुल्क आँखा शिविर

संरचना उद्घाटनको अवसरलाई स्वास्थ्य सेवासँग समेत जोड्दै दृष्टि आई हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो। शिविरमा २३० जनाभन्दा बढीले आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका थिए भने ३० जनालाई थप उपचारका लागि शल्यक्रिया गर्न सिफारिस गरिएको दृष्टि आई हस्पिटलका प्रवक्ता डा. सत्येन्द्र झाले जानकारी दिनुभयो।

ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या पहिचान गर्न र आवश्यक उपचारका लागि सहजीकरण गर्न शिविरले सहयोग पुर्‍याएको आयोजकको भनाइ छ। स्थानीयस्तरमै स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर उपलब्ध गराउनुका साथै आवश्यकताअनुसार थप उपचारमा पहुँच स्थापित गर्नु शिविरको महत्वपूर्ण पक्ष बनेको छ।

सामाजिक सेवामा योगदान पुर्‍याउने सम्मानित

स्वास्थ्य केन्द्र, पुस्तकालय र मन्दिर निर्माण तथा स्थापनाका लागि आर्थिक सहयोग र निरन्तर प्रोत्साहन प्रदान गर्ने सहयोगदातालाई समारोहमा सम्मान गरिएको थियो। जापानमा रहेर सामाजिक सेवामा योगदान पुर्‍याउँदै आउनुभएका वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सहयोगी तथा निचिनोकेन कान्तो कम्पनीका अध्यक्ष ताकाशी कोजिमालगायतलाई सम्मान गरिएको हो।

कोजिमाले प्रतिष्ठानको उद्देश्य पूरा गर्न आर्थिक सहयोग गर्नुका साथै निरन्तर प्रोत्साहन प्रदान गर्दै आउनुभएको आयोजकले जनाएको छ। सामाजिक पूर्वाधार निर्माणमा स्वदेश तथा विदेशमा रहेका सहयोगीहरूको योगदान महत्वपूर्ण रहेको पनि जनाइएको छ।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक वसुन्धरा देवी सुवेदी, अर्जुनधारा नगरपालिकाका पूर्वप्रमुख हरिकुमार राना, समाजसेवी एवं ऊर्जा मन्त्रीका सल्लाहकार देवी अधिकारी, अर्जुनधारा–१ का वडाध्यक्ष उपेन्द्र बस्नेत तथा सशस्त्र प्रहरी बल इलामका प्रमुख प्रहरी उपरीक्षक केशवचन्द्र प्याकुरेल सहभागी हुनुभएको थियो।

त्यसैगरी अर्जुनधारा जलेश्वरधामका मूल अर्चक पण्डित अग्निप्रसाद सिग्देल, निर्माण समितिका अध्यक्ष राजकुमार बराइली, शनिश्चरे बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमराज खरेल, अर्जुनधारा–९ का वडाध्यक्ष भीष्म मिश्र, वडा नं. ७ का वडाध्यक्ष गोविन्द खतिवडा, रूपरत्न मेमोरियल बोर्डिङ स्कुलकी प्रिन्सिपल नम्रता गिरी तथा शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख कृष्णबहादुर थापालगायतको उपस्थिति रहेको थियो।

तीनवटै संरचना निर्माण भई समुदायलाई हस्तान्तरण भएसँगै अब तिनको नियमित सञ्चालन, संरक्षण र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएको छ। स्वास्थ्य केन्द्रबाट सहज सेवा, पुस्तकालयबाट अध्ययनको अवसर र मन्दिरबाट धार्मिक गतिविधि सञ्चालन हुने वातावरण तयार गर्न सके मदनपुरमा निर्मित यी संरचना स्थानीय समुदायका लागि दीर्घकालीन रूपमा उपयोगी बन्नेछन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय