|
806 SHARES |
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको रोजगार, सीप तथा उद्यमशीलता केन्द्रले इटहरीमा आयोजना हुने सीप तथा रोजगार मेला २०८३ लाई लक्षित गर्दै प्रचारप्रसार तथा अनलाइन दर्ता सहजीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत मंगलबार शिवसताक्षी नगरपालिकाको सभाहलमा डिजिटल रोजगार सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा रोजगार मेला, रोजगारीका अवसर, सीप विकास तथा रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच समन्वय र सहजीकरण गर्ने विषयमा जानकारी गराइएको थियो।
शिवसताक्षी नगरपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका संयोजक विदुर तिम्सिनाले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गरी बाध्यात्मक वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। राष्ट्रिय स्तरमै रोजगारीमैत्री वातावरण निर्माण गर्दै रोजगारदाताको माग र आवश्यकताअनुसार सीप विकास, सीप प्रमाणीकरण तथा रोजगारीमा आबद्ध गराउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो।
संयोजक तिम्सिनाका अनुसार आगामी असोज १४ गतेदेखि २० गतेसम्म इटहरीमा सञ्चालन हुने सीप तथा रोजगार मेलाले रोजगारीको खोजीमा रहेका व्यक्ति र रोजगारदातालाई एउटै मञ्चमा जोड्नेछ। मेलामार्फत बेरोजगार व्यक्तिले आफ्नो योग्यता, सीप र क्षमताअनुसार रोजगारीको अवसर प्राप्त गर्न सक्ने तथा रोजगारदाताले आवश्यक जनशक्ति छनोट गर्न सक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले कोशी प्रदेशबाट सुरु हुने रोजगार मेलाले सीप र ज्ञान भएका बेरोजगार व्यक्तिलाई सरकारी तथा निजी क्षेत्रका रोजगारदातासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
समाजमा विभिन्न सीप, क्षमता र योग्यता भएका व्यक्तिहरू बेरोजगार रहे पनि रोजगारीका अवसर र रोजगारी खोज्ने व्यक्तिबीच पर्याप्त समन्वय हुन नसक्दा समस्या सिर्जना भइरहेको उहाँले उल्लेख गर्नुभयो। रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीचको दूरी कम गर्न डिजिटल माध्यम प्रभावकारी हुन सक्ने उहाँको भनाइ थियो।
डिजिटल प्रणालीमार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिलाई एकै ठाउँमा जोड्न सकिएमा दुवै पक्षलाई आवश्यक जनशक्ति तथा रोजगारीको अवसर खोज्न सहज हुने नगरप्रमुख थोप्राले बताउनुभयो। उपलब्ध सीप र क्षमतालाई उपयोग गर्दै स्थानीय स्तरमै रोजगारीका अवसर विस्तार गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, शिवसताक्षी होटल व्यवसायी संघका अध्यक्ष किरण ओली, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उदयप्रकाश राईलगायतले रोजगारी सिर्जना, सीप विकास र स्थानीय स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभएको थियो।
कार्यक्रममा बेरोजगार व्यक्ति तथा रोजगारदाताको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले अनलाइन प्रणालीमा दर्ता गर्ने प्रक्रियाबारे समेत सहजीकरण गरिएको थियो। अनलाइन दर्तामार्फत रोजगारी खोज्ने व्यक्तिको सीप, योग्यता र अनुभव तथा रोजगारदाताको जनशक्ति आवश्यकतासम्बन्धी विवरण सङ्कलन गरी रोजगारीका अवसरसँग जोड्ने विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
अभिमुखीकरण कार्यक्रममा शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष अग्नि दुलाल, होटल व्यवसायी, संस्थागत विद्यालयका प्रिन्सिपल, बेरोजगार व्यक्ति, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा रोजगारदाताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन हरि गुरागाईंले गर्नुभएको थियो।










