धनगढी । कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। उपचारमा संलग्न चिकित्सकहरूले औषधि तथा स्लाइन लिन आग्रह गरे पनि उनले अस्वीकार गरेपछि स्वास्थ्यमा थप जोखिम बढेको अस्पतालले जनाएको छ।
सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत डा. केसीको रक्तचाप ९०/६० एमएमएचजी रहेको छ भने रगतमा चिनीको मात्रा ४२ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको अस्पतालले जनाएको छ। चिकित्सकीय भाषामा यस अवस्थालाई ‘हाइपोग्लाइसेमिया’ भनिन्छ।
अस्पतालले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार डा. केसीको पिसाबमा किटोन बडी देखिएको छ भने रगतमा एसिडोसिससमेत पुष्टि भएको छ। उनलाई चक्कर लाग्ने, मांसपेशी बाउडिने (मसल क्र्याम्प्स) तथा अत्यधिक कमजोरीका कारण बोल्नसमेत असहज भइरहेको जनाइएको छ।
अस्पतालका चिकित्सकहरूको नेतृत्वमा गठित चार सदस्यीय उपचार टोलीले उनको स्वास्थ्य अवस्थाको २४सै घण्टा निगरानी गरिरहेको जनाएको छ। लामो समयदेखि मधुमेहको समस्या रहँदै आएको र बढ्दो उमेरका कारण पनि उनको स्वास्थ्य अवस्था थप संवेदनशील बनेको अस्पतालको भनाइ छ।
चिकित्सकहरूले तत्काल आवश्यक औषधि र स्लाइन लिन आग्रह गरिरहे पनि डा. केसीले त्यसमा सहमति नजनाएको अस्पतालले जनाएको छ।










