आफ्नै विद्यालयका विद्यार्थीलाई प्रविधिसँग जोड्न पूर्व विद्यार्थी लकान्द्रीको पहल



9,000 SHARES

बुधबारे, झापा। बुद्धशान्ति गाउँपालिका–२ स्थित एम्बिसन एकेडेमीका विद्यार्थीहरूलाई खगोल विज्ञान र आधुनिक प्रविधिसँग साक्षात्कार गराउने उद्देश्यले एक दिवसीय ‘एस्ट्रोनोमी सेसन’ सम्पन्न भएको छ। नरमाया स्मृति प्रतिष्ठानको आयोजना तथा बियोन्ड एकाडेमियाको प्राविधिक समन्वयमा सञ्चालित कार्यक्रमको संयोजन सोही विद्यालयका पूर्व विद्यार्थी सागर लकान्द्रीले गर्नुभएको हो।

विज्ञापन

आफूले अध्ययन गरेको विद्यालय र हुर्किएको समाजप्रति केही योगदान पुर्‍याउने उद्देश्यका साथ लकान्द्रीले आफ्नी स्वर्गीय माता नरमाया लकान्द्रीको पुण्य स्मृतिमा कार्यक्रमको परिकल्पना गर्नुभएको बताइएको छ। कार्यक्रमको उद्घाटन बुद्धशान्ति–२ की कार्यवाहक वडाध्यक्ष सन्जु पौडेललगायत अतिथिहरूले स्वर्गीय नरमाया लकान्द्रीको तस्बिरमा खदा अर्पण तथा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

विज्ञापन

‘शिक्षा र प्रविधिको संगम, उज्यालो भविष्यतर्फ एक कदम’ भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा कक्षा ७, ८ र ९ का विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई वैज्ञानिक सिकाइ, सौर्य अवलोकन र खगोल विज्ञानबारे प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा वडा सदस्य बिमला शंकर, जेसिज वर्ष २०२६ का अध्यक्ष कुशल अधिकारी, जेसिजका पूर्व अध्यक्ष सेमन्त पोख्रेल, इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज चन्द्रबहादुर राउत तथा बुद्धशान्ति साप्ताहिकका सम्पादक रोशन भट्टराईलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेल र सम्पादक भट्टराईले पूर्व विद्यार्थीले आफ्नो विद्यालय र आमाको स्मृतिमा गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै यसले अन्य युवालाई पनि सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

बियोन्ड एकाडेमियाका अध्यक्ष प्रनिश शर्मा, सचिव सुशान्त सुवेदी, प्रशिक्षक तथा कार्यक्रम निर्देशक शशांक शिवाकोटी र गेस्ट मेन्टर सबिन बास्कोटाको टोलीले टेलिस्कोपमार्फत सौर्य अवलोकन गराउँदै खगोल विज्ञानका रोचक तथ्यहरूबारे जानकारी गराएको थियो।

बुद्धशान्ति साप्ताहिकको विशेष समन्वयमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूमा विज्ञान र प्रविधिप्रति नयाँ उत्साह जागेको विद्यालय परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
7
+1
0
+1
19
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय