संघर्ष, समर्थन र गगन !



9,000 SHARES

राजेन्द्र गौतम  (लेख/बिचार)
आलोचना गर्न जति सहज हुन्छ, कसैको समर्थन गर्न त्योभन्दा हजार गुणा असहज हुन्छ । विरोधमा स्वर उराल्न निमेष लाग्दैन तर समर्थनको पक्षमा उभिन जुनीले पुग्दैन । समर्थनका लागि जुनीभर प्रयास गरेपनि असफल भएरै धेरैको इहलीला समाप्त हुन्छ । मानौँ, कतिपय मानिस कसैको समर्थन नै नगरी मर्छ, मरिन्छ । त्यसकारण म यो बेला पूर्ण समर्थनको कुरा गरिरहेको छु, विरोधको होइन ।

विरोध गर्नु भनेको विधि, प्रक्रिया र पद्धतिलाई अस्वीकार गर्नु हो । समर्थन निस्वार्थ हो, न त्यहाँ कुनै लोभ हुन्छ न प्राप्तिको आस नै । मलाई प्राप्तिको लोभ छैन । समर्थन गरे बापत स्वार्थको व्याज असुल्नु पनि छैन । त्यहीँ निस्वार्थ समर्थन गगनलाई ! यथार्थ नै हो, समर्थन गर्नेलाई आलोचना गर्ने अधिकार पनि हुन्छ । समर्थन नगर्नेलाई आलोचना गर्ने अधिकार हुन्न त भन्न सकिन्न । तर, त्यो आलोचना फगत आलोचनाका लागि मात्रै हुन्छ । यो चाहिँ स्थापित अभ्यास र प्रचलन नै हो ।

विज्ञापन

खुल्ला समर्थन गगनलाई भन्ने बित्तिकै मूर्त प्रसंग !  मेरो समर्थनको मूर्त पात्र हुन् – गगन थापा । मैले माथिनै भनिसकेँ मलाई प्राप्ति गर्नु छैन । कहिल्यै केही प्राप्त नगरेको र प्राप्तिको लोभनै नराखेपछि समर्थन गर्न कुनै आइतबार पर्खनु पर्दैन । बिना पर्खाई म गगनको पक्षमा दृढतापूर्वक उभिएको छु । भन्न चाहेको आइतबारको पर्खाइ मलाई आवश्यक नै छैन । गगन, त्यसमानेमा मेरो समर्थनका पात्र हुन् – उनीमा प्रष्ट भिजन छ । गल्ती स्वीकार्छन्, बिना हिच्किचाहट माफी माग्छन्, जो उनको सबैभन्दा ठूलो गुण हो । यही गुणले उनी अग्रणी छन् । गगन मात्र होइन, त्यति गर्ने ल्याकत राख्ने प्रत्येक व्यक्तिलाई कसैनकसैको खुल्ला समर्थन हुन्छ । सबैले भन्न नसक्नु बेग्लै कुरा हो । तर, गगन कांग्रेस भित्र अधीक समर्थनका पात्र हुन् ।

विज्ञापन

पवित्रताको जप भझाएर स्वार्थको पोखरीमा नुहाउने, त्यही पोखरीको पानी पिउने र त्यहीँ विष्टा गर्नेलाई के थाहा निस्वार्थ समर्थन कस्तो हुन्छ ? भजन मण्डलीहरुको स्वार्थभक्तिले अहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई कहाँ पुर्‍यायो । लोभको भाँडो नभरिएकाहरु समीक्षा गर्दै गर्नुस् । पापीहरुको समीक्षा पापमोचनका लागि हुन्छ, नवीन प्राप्तिका लागि हुन्न । म नवीन प्राप्तिका लागि समर्थन गरिरहेको छु, त्यो मेरा लागि होइन, मुलुक खातिर हो । मुलुकले पाउँछ भने मैले पित्को नपाउनु पर्नेले अर्थ राख्दैन । मुलुकका अघि म को नै हुँ र !

अब प्रश्न उठ्छ, गगनको समर्थन गर्दा मुलुकले के पाउँछ ? बितेका दुई दशकको समीक्षा गरौँ, जहाँ स्पातिलो जवाफ छ । जसलाई धार लगाउनै पर्दैन । धार भुत्तेलाई लगाउने हो, लाग्नेलाई होइन । स्पातिलो हतियारको धार नछामेकै बेस । हतियारसँग जिस्कन खोज्यो भने काट्छ, क्षति हुन्छ । गगन त्यही स्पात हुन् , उनलाई भुत्ते बनाउन नखोजौँ। उनी लडेर उठ्न सक्छन्, धुलो टक्टक्याएर अघि बढ्न सक्छन् । त्यो उनको विगतले पुष्टि गरेको छ । त्यसको चित्र दुनियाँ सामु छ । छायाँकपी खोज्नै पर्दैन ।

सामान्य परिवारको एउटा फुच्चे कुनै दिन सडकमा ढुंगा हान्दै थियो । त्यहीँ फोटो सबैले भँजाए र “भङ्जाहा” भने । नो मतलब ! गगन उनकै सुरमा थिए, अघि बढिरहे । पटकपटक राजद्रोहको मुद्दा ! कति गज्जब छ । हुने त्यही हो, गगन निरास  भएनन् । अनेकन हन्डर खेपे , बेहोरे, तर झुकेनन् । इमानपूर्वक संघर्ष गरिरहे । हार उनका लागि होइन, हारलाई लल्कार्न उनी हुन् । नेविसंघको राजनीति गरे । महामन्त्री भए, सभापति हुने आकांक्षा पूरा भएन । प्रत्येक कांग्रेसलाई थाहा छ, उनी किन नेविसंघको सभापति भएनन् । कसले रोक्यो । नेविसंघको सभापति हुन रोकियो तर उनी रोक्नेकै ठाउँमा पुग्ने सपना सझाएर संघर्ष गरिरहे । दुईपटकको प्रयासमा लोकप्रिय मात्र होइन, सानदार मतका साथ पार्टी महामन्त्री भने । अब त्यो पदको वैधानिक आयु समाप्ति रेखामा छ ।

सडकमा ढुंगा हान्दै गरेको फुच्चेले नारायणहिटी हेर्‍यो, राजतन्त्र मूर्दावादको नारा लगायो । के पायो ? माउ पार्टीले उललाई हतोत्साहित बनायो । हतोत्साहित हुन मानिस अरुले बनाएर हुँदैन, आफैं हुनुपर्छ । गगन  हतोत्साहित बनेनन् । आफ्नो मिसनमा लागिरहे , निरन्तर लागिरहे  र लागिरहे । भाग्यभन्दा पनि गगन भरोसाको बिम्ब हो । अहिले त्यही बिम्ब गगनका सामु अग्नीपरीक्षाको रुप धारण गरेर स्वयं उनकै सामु ठिङ्ग उभिएको छ ।

उनी थाकेनन् । सांसद भए, पार्टीको केन्द्रीय सदस्य भए । बढे, अगाडि बढिरहे । चार पटक सांसद, नौ महिना स्वास्थ्यमन्त्री । उनको लाभको पद यही हो । स्वास्थ्यमन्त्री हुँदा बिमाको कार्यक्रम ल्याए, जो लोकप्रिय छ । मनमोहन अधिकारीको पालामा सुरु भएको एक सय रुपैयाँ भत्ता जस्तै । अहिले मनमोहनलाई कसैले सम्झन्छन् भने त्यही भत्ताका कारण सम्झिन्छन्, नकि कम्युनिष्ट भएका कारण  ।  बिमाले गगनलाई त्यसरी नै सम्झाइरहने छ । यो चाहिँ यथार्थ हो ।

गम्भीर प्रश्न छ, उसोभए गगन ठिक हुन्  ?  उत्तर सहज छ, होइन । खासमा उनी उनका लागि ठिक हुन्, अनि “मेरा” लागि । अकाट्य सत्य चाहिँ मानिस सबैका लागि ठिक हुन सक्दैन । आफ्ना लागि ठिक भयो भने अक्सर अधीकका लागि ठिक हुन्छ।  मानिस अरुका लागि कहिल्यै पूर्ण ठिक हुदैन । भगवान कृष्ण त सबैका लागि  ठिक थिएनन्, महाभारत युद्धको कथामा त्यस्ता प्रसंग छन् । जो हामीले पढेका, सुनेका र सिरियल तिर देखेका छौँ । त्यसो भए गगन कसरी ठिक त ! उनकै जीवनको दुइटा प्रसंग छन्, जो उनी स्वयंले बोल्छन् ।

जतिबेला देशमा राजतन्त्र विरुद्ध आन्दोलन चलिरहेको हुन्छ ।आन्दोलन गरेको निहुँमा उनलाई राजद्रोहको मुद्दा लाग्छ। उनी जेलमा हुन्छन् । त्यसबेला कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला थिए । जेलबाट छुट्न, गिरिजाप्रसाद कोइरालाले संवैधानिक राजतन्त्र पक्षमा बोल्न खबर पठाउँछन् । मनले नमान्दा नमान्दै पनि गगगले पार्टी सभापतिको आग्रह शिरोपर गर्छन् र सभापतिकै भाषाको आसय बोल्छन् र जेलबाट मुक्त हुन्छन् । यो विगत हो, गगनलाई अब अगाडि बढ्न विगतले पुग्दैन । वर्तमानमा कर्म गर्न जरुरी छ । विगतलाई भजाएर वर्तमानमा रम्ने र भविष्य भरभराउँदो छ भन्ने भ्रम कसैले पाल्नै सक्दैन । गगनलाई त्यो पथमा अल्झने छुट नै छैन । अगाडि बढ्नै पर्छ ।

परिवर्तनको आन्दोलनमा होमिएका गगन फेरि जेल पर्छन्, उहीँ पुरानो मुद्दा लाग्छ – राजद्रोहको । उनलाई गिरिजाप्रसाद कोइरालाले त्यही बेला गणतन्त्रको कुरा बोल्न खबर पठाउँछन्, उनी त्यही बोल्छन् । त्यसपछि उनी गिरिजाप्रसाद कोइरालाका पत्यारिला बन्छन् । नेविसंघको सभापति नबनेको पाटो सकिन्छ। गगनको राजनीतिक जीवनले नयाँ मोड लिन्छ । तर, गगन संघर्षमै होमिन्छन् । त्यसबेला गिरिजाप्रसादले गरे जस्तो गगन विश्वास गर्ने नेता कांग्रेसमा अहिले कोही छैनन् । कोइरालाको जस्तो दूरगामी निर्णय लिने सक्ने नेता कांग्रेसमा खासै कोही छैन ।  गिरिजाप्रसादको निधनसँगै कांग्रेसमा त्यो स्तरको नेताको खडेरी छ ।

अहिले त कांग्रेसमा राजनीतिलाई मिटरब्याजी धन्दा सम्झनेको जमात छ।  मिटरब्याज अनुरुपको स्वार्थी कर्मकाण्डीहरु कांग्रेसको नेता छन् । गिरिजाप्रसाद कोइरालाले पत्याएका गगनलाई पत्याउन खासै कोही तयार छैनन् । मैले गगनलाई यही कारण पत्याएको हुँ, जो गिरिजाबाबुको दृष्टिमा जचेका थिए । गिरिजाप्रसादको त्यो विश्वास स्थापित गर्ने समय गगनको जीवनको संघारमा छ । त्यो गगनबाट सम्भव छ ।

गगन कांग्रेस बहालवाला महामन्त्री हुन् । उनको समर्थन र आलोचना चुलिँदै गएको छ । समर्थनको स्वीकारोक्ति उनमा अवश्य होला ! तर, आलोचनाबाट बिचलित छैनन् । पार्टी कब्जा गर्न खोजेको संगीन आरोप खेपेरै भएपनि उनी निरन्तर महाधिवेशन चुनाव अघिनै हुनु पर्ने अडानमा छन् । जसका कारण कांग्रेस केन्द्रीय समितिको जारी बैठक रोकिँदै, चल्दै गरिरहेको छ । गगन गलत थिए भने कांग्रेस केन्द्रीय समितिले उनलाई पाखा लगाउने शक्तिशाली निर्णय गर्थ्यो । त्यो नगर्नु नै गगनका अघि अरुले नसक्नु हो । उसोभए कसैले किन समर्थन नगरेको त ! मैले आलेखको सुरुवातमा नै उल्लेख गरेको छु – आलोचना गर्न जति सरल र सहज हुन्छ, कसैको समर्थन गर्न त्योभन्दा हजार गुणा असहज र अफ्ट्यारो हुन्छ ।

संसारलाई थाहा छ, मानिस कसैको शरणमा परेको सितिमिति स्वीकार्न तयार हुँदैन । बाँच्नकै लागि कसैको शरणमा पुग्नु अघि पुग्ने मानिसको यथार्थमा मृत्यु भइसकेको हुन्छ । तर,  पनि मानिस आफूलाई जिवित ठान्छ । अहिले गगनको पक्षमा उभिन नचाहनेहरु उनलाई दोष थोपरेर निर्दोष कहलिन चाहान्छन् । अब त्यो सम्भव छैन । मह । महाधिवेशन नगरी कांग्रेस चुनावमा गयो भने कांग्रेसको अस्तित्व  धिपधिपे हुनेछ । जो इतिहासमा कांग्रेसले कहिल्यै नबेहोरेको छ ।  र,  सम्झन नै नालायक क्षण हुनेछ । अप्रिल शब्दमा भन्नैपर्छ – कांग्रेस अहिले कि अधिवेशन गर्नै पर्ने  वा इतिहासको विलुप्त अवस्थामा छ ।

कांग्रेसको नियमित  महाअधिवेशन गर्ने कि विशेष महाधिवेशन, यो व्यर्थको बहस हो । महाधिवेशन चुनाव अघि कि पछि ? यो प्राविधिक कुरा मात्रै हो । यसमा अल्झनु र घोत्लिनु पर्ने धेरै कारण नै छैन । पार्टीको बैठक बस्ने, सर्ने, निर्णय नगर्ने, आरोप, प्रत्यारोप गर्ने शृङ्खला चलेकोले मात्रै अलिक पेचिलो लागेको हो । किटेरै भन्ने हो भने यो, मात्रै इच्छाशक्तिको कमी हो, अरु केही होइन । महत्वपूर्ण कुरा चाहिँ अहिले चलिरहेको संघर्ष दुई बिचारको हो । पार्टी यथास्थितिमा चलाउने कि रुपान्तरण गर्ने ? यो चाहिँ अहिलेको संघर्ष हो । पार्टी रुपान्तरण भए मतदाताले कांग्रेसलाई भोट लाल्छन् । यथास्थितिमा रहे मतदाताले कांग्रेसलाई मत हाल्दैनन् । नसच्चिए कांग्रेस सक्किनेछ ।

गगनका सामु अहिले दुईवटा यक्ष अभिभारा छ । पहिलो अब सकिनँ छाडें भन्ने । दोस्रो आफू पछिको पुस्तालाई नेतृत्वमा स्थापित गर्ने । दुई दशकमा पार्टीको केन्द्रीय सदस्य, स्वास्थ्यमन्त्री र पार्टीको महामन्त्री बनेँ, भनेर स्वीकार गर्ने कि ! पछिल्लो पुस्तालाई नेतृत्वमा स्थापित गर्ने ? पहिलो कुरा हार स्वीकारको विषय हो । दोस्रो कुरा, मेरो बाँकी संघर्ष पछिल्लो पुस्ताले पूरा गर्छ, भनेर उद्घोष गर्ने नै हो । अघिल्लो पुस्तालाई गगनले अहिले जे भनितहेका छन् उनलाई त्यही भन्ने पुस्ता कांग्रेसमा तम्तयार छ । गर्नै पर्ने आन्तरिक अधिवेशनहरु समयमा नहुँदा मात्रै त्यो आवाज तीखो रूपमा मुखरित नभएको हो । त्यो आवाज सुन्ने र कार्यान्वयन गर्ने यक्ष अभिभाराबाट औँस बराबर तलमाथि गर्ने छुट  गगन रहन्न ।

समयको रेतसँग अघि बढ्न नसकिए त्यो रेतले आफैंलाई क्षति गर्छ, यो प्राकृतिक नियम नै हो ।  जे गरेपनि छिटो गर्नु पर्छ । बेर गर्नु हुन्न ।  गगनले अब धेर अल्मलिनु पनि हुन्न । हार नस्वीकार्ने हो भने आफ्नै नेतृत्वमा पार्टी रुपान्तरण गर्नै पर्छ । नत्र गगन ” गगन ” रहन असम्भव छ । अहिलेसम्मको चट्टानी संघर्षलाई परिणाममुखी बनाउने हो भने निकट दिनमै पछिल्लो पुस्तालाई नेतृत्वमा स्थान दिनुको बिकल्पै छैन । आफ्नै मर्जी गगन ! मेरो समर्थन ।

राजेन्द्र गौतम-लेखक 

 

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय