|
9,000 SHARES |
झापा । भारतबाट अबैध रूपमा ल्याइएका करिब एक हजार किलो तरकारी र फलफूल झापाको काँकडभिट्टामा प्रहरीले बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आवश्यक अनुमति पत्र र भन्सार प्रक्रिया बिना नेपाल भित्र्याइएका सामान पक्राउ गरी बिहीबार कार्यालय परिसरभित्र खाल्टो खनेर नष्ट गरेको हो।
बरामद गरिएका तरकारी तथा फलफूलको अनुमानित मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ। तीमध्ये आलु, चिचिन्डा, करेला, अनारलगायतका तरकारी तथा फलफूल रहेका थिए।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका बालिसंरक्षण अधिकृत सन्तोष थापाका अनुसार पक्राउ परेका वस्तु कानुनी रूपमा प्रतिबन्धित भने होइनन्। तर, भारतबाट ल्याउँदा आवश्यक अनुमति र भन्सार प्रक्रिया पूरा नगरेकाले स्वास्थ्य सुरक्षा र आयात नियमअनुसार नष्ट गरिएको हो।
यसअघि पनि काँकडभिट्टा नाकाबाट तरकारी तथा फलफूलसहितका कृषि उत्पाद आयात गर्दा आवश्यक कागजात नपुगेका कारण पटक–पटक नष्ट गरिँदै आएको छ।










