बिर्तामोडको ५८ करोड बढी लागतको बुट्टाबारी–प्याकुरेल सडक उद्घाटन



1,108 SHARES

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६, ७ र ८ लाई जोड्ने बुट्टाबारी–प्याकुरेल चोक सडक निर्माण सम्पन्न भएसँगै औपचारिक रूपमा उद्घाटन गरिएको छ। विश्व बैंकको ५८ करोड ८३ लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको ६.२५ किलोमिटर लामो सडक कोशी प्रदेशका सांसद तथा पूर्व खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की र बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

कात्तिक १८ गते आयोजित कार्यक्रममा रिबन काटेर सडक सञ्चालनमा ल्याइएको हो। नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार सडक निर्माणमा ५८ करोड ८३ लाख ५९ हजार ५६५ रुपैयाँ खर्च भएको छ। १२ मिटर चौडाइको उक्त सडकले बिर्तामोडका तीनवटा वडालाई प्रत्यक्ष रूपमा जोडेको छ।

सडक निर्माणका लागि २०८० वैशाख २९ गते आरपी साप समता जेभीसँग ठेक्का सम्झौता भएको थियो। त्यसअघि वैशाख २६ गते नगरप्रमुख प्रसाईले सडक निर्माणको शिलान्यास गर्नुभएको थियो।

विज्ञापन

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद कार्कीले पछिल्लो समय देशमा विकास निर्माणका काम नभएको भन्ने भाष्य निर्माण गरिए पनि पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय काम भइरहेको बताउनुभयो। बुट्टाबारी–प्याकुरेल सडक निर्माणका लागि लामो समयदेखि गरिएको पहलले मूर्तरूप पाएको उल्लेख गर्दै उहाँले खुसी व्यक्त गर्नुभयो।

नगरप्रमुख प्रसाईले विभिन्न चुनौतीका बाबजुद सडक निर्माण सम्पन्न गर्न सफल भएको बताउनुभयो। भौगोलिक अवस्थाका कारण निर्माण कार्य अपेक्षाकृत सहज नभए पनि गुणस्तरीय र नमुना सडकका रूपमा विकास गर्ने प्रयास गरिएको उहाँको भनाइ थियो। सडकको दायाँबायाँ सौर्य बत्ती जडानका लागि प्रदेश सरकारसँग पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो।

सडक निर्माण सम्पन्न भएपछि बिर्तामोडका तीनवटा वडाका बासिन्दाको आवागमन सहज हुने तथा स्थानीय व्यापार, व्यवसाय र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यसले सहरी पूर्वाधार विस्तारसँगै क्षेत्रीय सम्पर्कलाई समेत थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

नगरप्रमुख प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सहरी शासकीय पूर्वाधार आयोजना कार्यालयका निर्देशक लीला खतिवडा, नेकपा एमालेका नेता देवराज कार्की, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला र राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दीपक दाहाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय नेतृत्व, कर्मचारी तथा स्थानीय उपभोक्ताको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय