|
817 SHARES |
झापा । गीतसङ्गीत तथा साहित्यका क्षेत्रमा सक्रिय स्रष्टा आरबि खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको मिरिकमा लोकार्पण गरिएको छ। लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आउनुभएका खड्काको गीतसङ्ग्रह वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङको स्मृतिमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको हो।
लभ एण्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सङ्गीत साधक, साहित्य अनुरागी, स्रष्टा–सर्जक, विभिन्न क्षेत्रका व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उपस्थितिमा कृति लोकार्पण गरिएको लेखक खड्काले बताउनुभएको छ।
कृति लोकार्पणपछि धारणा राख्दै खड्काले ‘फर्केर हेर्दा’ आफ्नो सिर्जनात्मक यात्राको महत्वपूर्ण र भावपूर्ण अध्याय भएको बताउनुभयो। जीवनका विभिन्न मोडमा आफूले भोगेका सुख–दुःख, प्रेम–वियोग, प्राप्ति–अप्राप्ति, संघर्ष, आशा तथा मनमा सञ्चित अनुभूति शब्दमा पोखिँदै कृतिका रूपमा आएको उहाँको भनाइ छ। उहाँले ‘फर्केर हेर्दा’ केवल गीतहरूको सङ्ग्रह नभई आफूले बाँचेको समय, भोगेका अनुभूति, देखेका सपना र जीवनका विभिन्न रङहरूको सानो अभिलेख भएको बताउनुभयो।
“एउटा स्रष्टाका लागि आफ्नो सिर्जना पाठक र श्रोताको हातसम्म पुग्नु आफैँमा ठूलो खुसी हो,” खड्काले भन्नुभएको छ, “त्यो सिर्जनाले पाठकको मनमा कुनै भावना जगाउन, पुरानो स्मृति ब्युँझाउन वा जीवनका अनुभूतिसँग संवाद गर्न सके त्यही नै स्रष्टाका लागि सबैभन्दा ठूलो प्राप्ति हो।”
खड्काले कृतिको प्रकाशनदेखि लोकार्पणसम्म महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको लभ एण्ड सपोर्ट फाउन्डेसनप्रति आभार व्यक्त गर्नुभएको छ। त्यस्तै, कृतिलाई भाषिक सौन्दर्य, शिल्प र परिष्कार प्रदान गर्न योगदान पुर्याउने सम्पादक तथा शुभकामना र सद्भाव व्यक्त गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ।
पुस्तकको प्रारम्भिक अवधारणादेखि प्रकाशनको अन्तिम चरणसम्म निरन्तर सहयोग, प्रेरणा र मार्गदर्शन प्रदान गर्नुभएका मनोज राईप्रति पनि खड्काले विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले राईको साथ र प्रेरणाबिना कृति प्रकाशनको यात्रा सहज रूपमा अघि बढ्न नसक्ने उल्लेख गर्नुभएको छ।

गीतसङ्गीत र साहित्यमा रुचि राख्दै आउनुभएका खड्काका यसअघि पनि विभिन्न रचना तथा सिर्जनाहरू सार्वजनिक भइसकेका छन्। अमेरिकामा रहेर पनि नेपाली गीत–साहित्यको सिर्जनामा निरन्तर सक्रिय रहनुभएका खड्काले ‘फर्केर हेर्दा’मार्फत जीवनका अनुभूति र स्मृतिलाई गीतका माध्यमबाट पाठक तथा श्रोतामाझ प्रस्तुत गर्नुभएको हो।
खड्काले कृतिप्रति पाठक, श्रोता, स्रष्टा तथा गीत–साहित्यप्रेमीको माया, सुझाव र स्वस्थ आलोचनालाई आगामी सिर्जनाका लागि प्रेरणाको स्रोतका रूपमा लिने बताउनुभएको छ। उहाँले जीवनका उज्याला–अँध्यारा, मिलन–बिछोड, हाँसो–आँसुजस्ता अनुभूतिका अनेकौँ रङलाई शब्दमा समेटिएको आफ्नो सिर्जनात्मक प्रयासका रूपमा ‘फर्केर हेर्दा’लाई पाठक तथा श्रोतामाझ समर्पण गर्नुभएको छ।










