बिर्तामोडमा ढकतराजु, डिजिटल काँटा र मिटरको नवीकरण अभियान सुरु



696 SHARES

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायमा प्रयोग हुँदै आएका नापतौलसम्बन्धी उपकरणको नियमित जाँच, नवीकरण तथा अनुमतिपत्र वितरणका लागि विशेष सेवा सञ्चालन गरेको छ। गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरसँगको समन्वयमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत ढकतराजु, डिजिटल काँटा तथा कपडा नाप्ने मिटरको परीक्षण तथा नवीकरण गरिने भएको हो।

संघका अनुसार असार १८ गतेदेखि २१ गतेसम्म बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालय परिसरमा डोर टोलीमार्फत सेवा उपलब्ध हुनेछ। प्रत्येक दिन बिहान १०स्३० बजेदेखि दिउँसो ३स्३० बजेसम्म व्यवसायीले आफ्ना नापतौल उपकरण लिएर उपस्थित भई सेवा लिन सक्नेछन्।

विज्ञापन

संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायिक कारोबारमा प्रयोग हुने नापतौलका उपकरण नियमित रूपमा परीक्षण तथा नवीकरण नगर्दा उपभोक्ता र व्यवसायीबीच विश्वासको संकट सिर्जना हुन सक्ने भएकाले समयमै जाँच गराउनु आवश्यक रहेको बताए। उनका अनुसार यसले व्यापारिक पारदर्शिता कायम गर्नुका साथै उपभोक्ताको अधिकार संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

विज्ञापन

त्यस्तै, संघका महासचिव कुशल खतिवडाले गुणस्तर तथा नापतौल कार्यालयसम्म पुग्नुपर्ने झन्झट हटाई स्थानीय स्तरमै सेवा उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। यसअघि पनि संघले नापतौल उपकरण जाँच, नवीकरण तथा अनुमतिपत्र वितरणका यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।

पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित बिर्तामोडमा साना, मझौला र ठूला गरी करिब ६ हजार व्यवसायी सक्रिय रहेको अनुमान छ। दैनिक उपभोग्य वस्तु, कृषि, हार्डवेयर, कपडा, सुनचाँदी, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, औद्योगिक उत्पादन तथा सेवा क्षेत्रका अधिकांश कारोबार नापतौल प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। त्यसैले नापतौल उपकरणको शुद्धता र वैधानिकता कायम गर्नु समग्र बजार व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

संघले व्यापारिक अनुशासन, पारदर्शिता र उपभोक्ता हित संरक्षणका लागि सबै व्यवसायीलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई ढकतराजु, डिजिटल काँटा, कपडा नाप्ने मिटरलगायतका उपकरणको परीक्षण तथा नवीकरण गराउन आग्रह गरेको छ। नियमित अनुगमन र प्रविधिमैत्री सेवामार्फत व्यवस्थित, विश्वसनीय र पारदर्शी बजार निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय