|
9,000 SHARES |
झापा । जल तथा मौसम विज्ञान विभाग ले देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जनाएको छ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल का अनुसार मंगलबार केही पहाडी भूभागमा आंशिक बदली देखिए पनि वर्षाको सम्भावना छैन।
उनले भने, “शनिबारसम्म मौसम सामान्यतः सफा नै रहनेछ। आज पहाडी क्षेत्रमा केही बादल लागेको छ, तर वर्षा भएको छैन। यद्यपि ताप्लेजुङ, संखुवासभा तथा कास्की का एक–दुई स्थानमा छिटपुट वर्षा हुनसक्ने सम्भावना देखिएको छ। जिल्लाभर भने वर्षा हुने अवस्था छैन।”
उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभा तथा गण्डकी प्रदेशको कास्कीका सीमित स्थानमा मात्रै हल्का वर्षा हुन सक्ने आकलन गरिएको हो।
बुधबार पनि केही पहाडी क्षेत्रमा हल्का बदली देखिए पनि उल्लेखनीय मौसमी जोखिम नरहेको उनले जानकारी दिए। गर्मीयाम सुरु भएसँगै दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुन सक्ने मौसमी प्रवृत्ति देखिन सक्छ।
तर यो साताभर देशभर वर्षा तथा हिमपातको सम्भावना नरहेको विभागले स्पष्ट पारेको छ। साथै, मौसमी अवस्थाले मतदान प्रक्रियामा कुनै असर नपर्ने पनि जनाइएको छ।










