प्रतिनिधिसभा निर्वाचन आउन १३ दिन मात्रै बाँकी



9,000 SHARES

झापा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी रहेको छ। जेनजी आन्दोलनपछि तय गरिएको उक्त निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य र सभ्य बनाउन तथा मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगले एक मिनेट अवधिको टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने जनाएको छ। निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, मतदानको सही तरिका, मतदाताको अधिकार र कर्तव्य लगायतका विषयमा आधारित भिडियो तयार गर्नुपर्नेछ।

विज्ञापन

प्रतियोगितामा सहभागी हुन इच्छुकले फागुन १७ गतेभित्र आफ्नो मौलिक अडियो तथा अभिनय सहितको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरी आयोगको इमेलमा पठाउनुपर्नेछ। भिडियो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिवेशमा आधारित, संवादमूलक र सन्देशमूलक हुनुपर्ने आयोगले जनाएको छ।

विज्ञापन

आयोगका अनुसार प्राप्त भिडियोमध्ये सबैभन्दा बढी भ्यूज पाउने पहिलो भिडियोले ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

निर्वाचनको आवश्यकता, महत्त्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेदवार छनोटबारे जानकारी दिने सामग्रीलाई प्राथमिकता दिइनेछ। एक व्यक्तिले एक विषयमा एउटा मात्रै भिडियो पठाउन सक्नेछ भने दुई वा सोभन्दा बढी व्यक्तिले संयुक्त रूपमा पनि भिडियो निर्माण गर्न सक्नेछन्।

आयोगले प्राप्त भिडियोहरू आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सक्ने जनाएको छ। तोकिएको मापदण्ड पूरा नगरेका तथा म्याद नाघेर प्राप्त भिडियोहरू भने स्वीकार गरिने छैनन्। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ र आयोगबाट गरिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय