|
9,000 SHARES |
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज भएको ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ। सयौँ घाइते भएको र उनीहरू विभिन्न अस्पतालमा उपचाररत रहेको अस्पताल स्रोतले जनाएका छन्।
त्रिवि शिक्षण अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा उपचाररत छ जनाको मृत्यु भएको छ। त्यहाँ हाल २५ घाइते उपचाररत छन्, जसमा पाँच जनाको अवस्था गम्भीर छ।
सिभिल अस्पतालमा तीन जनाको मृत्यु भएको छ भने काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० मध्ये एक जनाले ज्यान गुमाएका छन्। एभरेष्ट अस्पतालमा ३४ जना उपचाररतमध्ये तीन जनाको मृत्यु भएको छ। यस्तै, महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ।
उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ। जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।










