एसियन हाइवेको पूर्वी खण्डमा २५.५ किलोमिटर सडक कालोपत्रे, भौतिक प्रगति ५६ प्रतिशत



828 SHARES

झापा । पूर्व–पश्चिम एसियन हाइवेको काँकडभिट्टा–लौकही सडक आयोजना अन्तर्गत पूर्वी खण्डमा हालसम्म २५ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भएको छ। निर्माणाधीन चार लेनको सडकको भौतिक प्रगति ५६ प्रतिशत पुगेको आयोजना प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो।

काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमध्ये दुवैतर्फ गरी १९ दशमलव पाँच किलोमिटर र एकतर्फी छ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको उहाँले बताउनुभयो। दुई तहमा कालोपत्रे गर्नुपर्ने भएकाले आगामी माघ १८ गतेसम्म पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

रु. १० अर्ब ६ करोड ९४ लाख लागतमा निर्माण भइरहेको यस सडकको ठेक्का सम्झौताको म्याद आगामी माघ १८ गतेसम्म रहेको छ। तर, उक्त अवधिभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने सम्भावना न्यून रहेको आयोजना प्रमुख पन्तको भनाइ छ। पूर्ण रूपमा काम सम्पन्न गर्न थप करिब एक वर्ष लाग्ने अनुमान गरिएको उहाँले बताउनुभयो।

विज्ञापन

आयोजनामा एसियाली विकास बैंकको ८४ दशमलव ९५ प्रतिशत र नेपाल सरकारको १५ दशमलव १५ प्रतिशत लगानी रहेको छ। यस प्याकेजअन्तर्गत निर्माण गर्नुपर्ने १८ वटा पुलको काम भने पूरा भइसकेको छ।

कनकाई, माई, विरिङ र नन्दा खोलामा आर्क ब्रिज प्रकृतिका पुल निर्माण गर्ने योजना रहेको छ। तीमध्ये विरिङ खोलामा स्टिल ट्रस जडानको काम सुरु भइसकेको छ। दुईवटा पिस रहने उक्त संरचनाले आगामी करिब दुई महिनाभित्र आकार लिने अपेक्षा गरिएको आयोजना प्रमुख पन्तले जानकारी दिनुभयो।

बिर्तामोड र चारआलीलगायत सहरी तथा घना बस्ती भएका क्षेत्रमा विद्युत् पोल स्थानान्तरण गर्न बाँकी रहँदा निर्माण कार्यमा केही जटिलता उत्पन्न भएको छ। यसअघि निर्माण व्यवसायीले आवश्यक जनशक्ति, उपकरण तथा निर्माण सामग्री पर्याप्त मात्रामा परिचालन गर्न नसक्दा पनि आयोजनाको काम प्रभावित भएको पन्तले बताउनुभयो।

त्यसैगरी, अन्तर्राष्ट्रिय द्वन्द्वका कारण इन्धन तथा अलकत्राको मूल्यवृद्धि र उपलब्धतामा देखिएको उतारचढावले निर्माण कार्यमा थप प्रभाव पारेको उहाँको भनाइ छ। निर्माण व्यवसायीले कार्यस्थलमा काम अवरुद्ध भएका विषयलाई प्रमाणसहित नियमित रूपमा आयोजनाको पूर्व कार्यालय दमकमा जानकारी गराउँदै आएको छ।

म्याद थपका विषयमा भने निर्माण कार्य अवरुद्ध हुनुका कारण, काम सम्पन्न गर्न सकिने आधार तथा निर्माण व्यवसायीको गम्भीरतालाई मूल्याङ्कन गरेर आवश्यक निर्णय लिन सकिने आयोजना प्रमुख पन्तले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय