‘पाँच पाण्डव’को प्रचारमा झापामा आर्यन र जितु, विवादबारे दिए यस्तो प्रतिक्रिया



1,100 SHARES

बिर्तामोड । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘पाँच पाण्डव’को प्रचारप्रसारमा जुटेका अभिनेता आर्यन सिग्देल र जितु नेपाल झापा आइपुगेका छन्। चलचित्रको छायांकनस्थलसमेत रहेको पूर्वी नेपालका दर्शकमाझ प्रचारप्रसार गर्ने क्रममा बुधबार उनीहरू बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सहभागी भएका हुन्।

चलचित्र पत्रकार संघ नेपाल झापाको संयोजनमा आयोजित भेटघाटमा अभिनेता जितु नेपालले चलचित्र जाँच पास समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेसँगै चलचित्रलाई लिएर उठेका विवादका विषय स्पष्ट हुँदै गएको बताउनुभयो।

जितुका अनुसार चलचित्र जाँचका क्रममा विज्ञ टोलीले चलचित्रको प्रशंसा गर्दै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र दिएको छ। हालै सार्वजनिक दोस्रो ट्रेलरले पनि चलचित्रको कथावस्तुबारे धेरै कुरा स्पष्ट पारेको उहाँको भनाइ थियो।

विज्ञापन

धार्मिक आस्थाप्रति आफूहरू संवेदनशील रहेको उल्लेख गर्दै जितुले चलचित्र नहेरी विवादका आधारमा धारणा नबनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘विवादको जुन विषय छ, पूरा चलचित्र हेरिसकेपछि दर्शकलाई पक्कै लाग्छ– यो कुनै विवादको विषय नै होइन।’

चलचित्रको अधिकांश छायांकन झापा र इलाममा गरिएको जानकारी दिँदै उहाँले पूर्वका दर्शकबाट चलचित्रलाई साथ र माया मिल्ने विश्वास व्यक्त गर्नुभयो।

अभिनेता आर्यन सिग्देलले पनि पूर्वी नेपालका दर्शकसँग आफ्नो पुरानो आत्मीय सम्बन्ध रहेको स्मरण गर्नुभयो। करिअरका सुरुवाती चलचित्रदेखि नै पूर्वका दर्शकले दिएको माया र साथले आफूहरूजस्ता कलाकारलाई स्थापित हुन मद्दत पुगेको उहाँको भनाइ थियो।

पछिल्लो समय फरक–फरक चरित्रमा अभिनय गर्ने आफ्नो रुचि पूरा हुँदै गएको बताउँदै आर्यनले ‘पाँच पाण्डव’को अवधारणा र पात्रबारे सुन्नेबित्तिकै चलचित्रमा काम गर्ने निर्णय गरेको जानकारी दिनुभयो। चलचित्रमा एक्सन, प्रेम र हास्यरससहितका मनोरञ्जनात्मक पक्ष समेटिएको उहाँले बताउनुभयो।

चलचित्रसँग जोडिएको विवादबारे प्रतिक्रिया दिँदै आर्यनले प्रदर्शनअघि नै पूर्वानुमानका आधारमा धारणा बनाउनुभन्दा चलचित्र हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गर्नुभयो।

अभिनेत्री इभा गिरीलाई ‘द्रौपदी’का रूपमा प्रस्तुत गर्दै क्यासिनोमा नचाइएको दृश्यले सिर्जना गरेको विवादबारे सोधिएको प्रश्नमा आर्यनले चलचित्र वास्तविक महाभारतको कथा नभएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, ‘पहिलो कुरा, यो वास्तविक महाभारतको कथा होइन, यो पाँच पाण्डवको कथा हो। त्यसैले कुनै पात्र द्रौपदीजस्तो लाग्नु स्वाभाविक हो, तर चलचित्रमा त्यस्तो छैन।’

निर्माण पक्षका अनुसार चलचित्रमा युधिष्ठिर पात्र आफ्ना भाइहरूको खोजीमा निस्किएको कथालाई मुख्य विषय बनाइएको छ। यात्राका क्रममा विभिन्न पात्रलाई आफ्नै भाइ सम्झिने अवस्थामार्फत दाजुभाइबीचको सम्बन्ध र समकालीन समाजका विविध समस्यालाई चलचित्रले प्रस्तुत गरेको छ।

पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपाल झापाकी उपाध्यक्ष सुनिता तामाङले गर्नुभएको थियो। कार्यक्रममा चलचित्र टोलीका समीर नेपाल, पिज्जा घरका सञ्चालक तथा कलाकार याम खरेललगायतको उपस्थिति थियो।

वसन्त निरौलाको निर्देशनमा निर्माण भएको ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी र प्रशान्त ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ।

नवीन श्रेष्ठको प्रस्तुति रहेको चलचित्रमा कालीरानी श्रेष्ठको लगानी छ। सुशील पौडेलको लेखन, श्याम तामाङको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय