कार्तिक २१ गते चारआलीमा नेपथ्यको लाइभ कन्सर्ट



1,117 SHARES

चारआली । झापाको चारआलीमा ख्यातिप्राप्त नेपाली सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आयोजना हुने भएको छ। आगामी कात्तिक २१ गते चारआलीस्थित हातेमालो सामुदायिक वनको खेल मैदानमा कन्सर्ट हुन लागेको हो।

चारआली जेसीस र बज्र इभेन्टको संयुक्त आयोजनामा हुन लागेको कन्सर्टलाई चारआलीको सांगीतिक पहिचान स्थापित गर्ने अवसरका रूपमा लिइएको आयोजकले जनाएको छ। चारआलीलाई संगीतसँग जोड्दै यस क्षेत्रलाई सांगीतिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

विज्ञापन

आयोजकका अनुसार कन्सर्टप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। बज्र इभेन्टका सञ्चालक फुर्वा लामाले हालसम्म ४ हजार ७ सय टिकट बिक्री भइसकेको जानकारी दिए। आयोजकले कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ। भारतबाट मात्रै ५ देखि ७ सय दर्शक आउने अनुमान गरिएको लामाले बताए।

विज्ञापन

उनका अनुसार कन्सर्टको अनुमानित लागत करिब एक करोड रुपैयाँ रहेको छ। टिकट नेपथ्य ब्याण्डले नै उपलब्ध गराएको हो। आयोजकले छुट्टै टिकट छपाइ नगरी ब्याण्डबाट प्राप्त टिकट बिक्री गरिरहेको जनाएको छ।

चारआली जेसीसका अध्यक्ष सञ्जय निरौलाले नेपथ्यजस्तो स्थापित ब्याण्डको प्रस्तुति चारआलीमा हुनु यस क्षेत्रकै गौरवको विषय भएको बताए। उनले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन विभिन्न तयारी भइरहेको जानकारी दिए। उनका अनुसार धरानदेखि श्रीअन्तुसम्म १५५ वटा बुलेट मोटरसाइकल सहभागी र्‍यालीसमेत सफलतापूर्वक सम्पन्न गरिएको छ।

चारआली जेसीसका पूर्वअध्यक्ष उत्तम प्याकुरेलले चारआलीलाई सांगीतिक पहिचान दिलाउँदै यस क्षेत्रलाई संगीतको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताए।

नेपथ्यको लोकप्रिय सांगीतिक प्रस्तुतिले झापासहित आसपासका जिल्लाका संगीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने आयोजकको विश्वास छ। कन्सर्टमा नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।

यस कार्यक्रमले चारआलीको सांगीतिक पहिचान विस्तार गर्नुका साथै स्थानीय पर्यटन, व्यापार व्यवसाय र सांस्कृतिक गतिविधिमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय