|
754 SHARES |
झापा । झापाको अर्जुनधारा नगरपालिकाले ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद र उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले ‘ज्येष्ठ नागरिकसँग जनप्रतिनिधि’ कार्यक्रम सुरु गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित कार्यक्रमअन्तर्गत सञ्चालन गरेको उक्त कार्यक्रम आज वडा नम्बर ६ बाट सुरु गरिएको हो। नगरपालिकाका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिने र प्रत्येक वडाका कम्तीमा दुई स्थानमा कार्यक्रम आयोजना गरिने नगरपालिकाले जनाएको छ। वडा नम्बर ६ मा भने तीन स्थानमा कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमको पहिलो दिन ६१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। परीक्षणका क्रममा रक्तचाप (प्रेसर), मधुमेह (सुगर) लगायतका स्वास्थ्य समस्या जाँच गरिएको थियो। ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

ज्येष्ठ नागरिक खेतनाथ दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुइँकेलले कार्यक्रम सञ्चालन गर्नुको औचित्य र उद्देश्यबारे प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए। कार्यक्रमको सञ्चालन मुकुन्द बस्नेतले गरेका थिए।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगरपालिकाले सबै वडामा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिकलाई जनप्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने, आफ्ना समस्या तथा आवश्यकता राख्ने र स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।









