दाहालटारमा बन्दै केराको आकर्षक प्रतिमा, कृषि पहिचानसँगै समृद्धिको सपना



780 SHARES

अर्जुनधारा, झापा । झापाको अर्जुनधारा नगरपालिका–२ र इलामको माई नगरपालिका–५ को साझा भूगोलमा रहेको दाहालटारमा केराको पहिचान स्थापित गर्ने उद्देश्यले केराको आकर्षक प्रतिमा निर्माण भइरहेको छ। स्थानीय कृषि उत्पादनलाई क्षेत्रको पहिचानसँग जोड्दै केराखेतीको प्रवर्द्धन, व्यावसायिक उत्पादन र बजारीकरणमार्फत गाउँको आर्थिक समृद्धिको आधार तयार गर्ने लक्ष्यसहित दाहालटार चोकमा प्रतिमा निर्माण थालिएको हो।

यस अभियानमा अर्जुनधारा नगरपालिकाको आर्थिक लगानी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रतिबद्धता, स्थानीय युवा समाजसेवी जीवन लिम्बुको सिर्जनशील पहल र दाहालटार सामुदायिक वन उपभोक्ता समूहको प्रारम्भिक सहकार्य महत्त्वपूर्ण रहेको छ। 

विज्ञापन

प्रतिम निर्माण कार्यको नेतृत्व गरिरहेका लिम्बुका अनुसार अर्जुनधारा नगरपालिकाका नगरप्रमुख गोम्देन आफैँ दाहालटार पुगेर केराको प्रतिमा स्थापना गर्न आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार नगरपालिकाले बजेट विनियोजन गरेपछि अहिले प्रतिमा निर्माणको काम अघि बढिरहेको हो।

विज्ञापन

प्रतिमा निर्माण तथा चोक आसपास ड्रेनसहितको पूर्वाधार विकासका लागि नगरपालिकाले सुरुमा एक लाख ७० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यसपछि थप एक लाख ८९ हजार रुपैयाँ बजेटसमेत विनियोजन भएको जनाइएको छ। नगरपालिकाको आर्थिक सहयोगलाई स्थानीयस्तरको पहल र सामुदायिक सहकार्यले सार्थक बनाउँदै लगेको छ।

योजनाको सुरुवातसँगै स्थानीय युवा, सामाजिक व्यक्तित्व तथा गाउँलेहरूको उत्साहजनक साथ र सहयोगले निर्माण कार्यलाई थप गति दिएको लिम्बुले बताउनुभयो।

 

योजनाको परिकल्पना र सुरुवातमा सक्रिय भूमिका निर्वाह गरेका लिम्बु कलाकारसमेत हुन् । उनले आफ्नै पहलमा चोकमा प्रतिमा निर्माणको काम अघि बढाएका थिए। त्यस बखत दालटार सामुदायिक वनले समेत काठ उपलब्ध गराएर प्रतिमा निर्माणमा सहयोग गरेको थियो। यसअघि दाहालटार चोकमा केराको प्रतिमा थिएन। सामान्य प्रकृतिको संरचना र बत्ती राखेर चोकको स्वरूप दिइएको थियो। त्यसलाई स्थानीय उत्पादनको पहिचान झल्काउने आकर्षक स्थलका रूपमा विकास गर्ने सोचसहित केराको प्रतिमा निर्माणको अवधारणा अघि सारिएको लिम्बुले बताउनुभयो।

निर्माण कार्य अहिले अन्तिम चरणमा पुग्न लागेको छ। काम सम्पन्न भएपछि चाँडै नै प्रतिमाको उद्घाटन गरिने अभियन्ता लिम्बुले जानकारी दिनुभयो।

उहाँका अनुसार केराको प्रतिमा निर्माण गर्नु केवल चोक सजाउने उद्देश्यमा सीमित छैन। दाहालटारलाई केराखेतीको पहिचान बोकेको क्षेत्रका रूपमा स्थापित गर्दै यहाँ उत्पादित वस्तुको प्रवर्द्धन र बजारीकरण गर्नु अभियानको मुख्य लक्ष्य हो। केराका विभिन्न परिकार, केराबाट उत्पादित मदिरा तथा तरकारीजन्य उत्पादनको ब्रान्डिङ गरी बजारसम्म पुर्‍याउने दीर्घकालीन योजना पनि रहेको उहाँले बताउनुभयो।

दाहालटारमा करिब १०० रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती हुँदै आएको छ। यहाँ चिनी चम्पा, लालकोला लगायतका जातका केराको खेती गरिन्छ। यद्यपि, स्थानीय कृषकहरूले अहिले केराखेतीलाई पूर्ण रूपमा व्यावसायिक र व्यवस्थित बनाउन सकेका छैनन्। सिँचाइको पर्याप्त सुविधा नहुँदा कृषि उत्पादनमा चुनौती रहे पनि केराखेतीका लागि दाहालटारमा राम्रो सम्भावना रहेको स्थानीयको बुझाइ छ।

बस्ती क्षेत्रमा सिँचाइ सुविधा नपुगेका कारण केरा, सुपारी, बास र कोदो यहाँका प्रमुख कृषि उत्पादनका रूपमा रहेका छन्। यी बालीलाई व्यवस्थित र व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीयको आयआर्जन बढाउनुका साथै समग्र बस्तीलाई समृद्धिको बाटोमा अघि बढाउन सकिने सम्भावना छ।

नगरपालिका र अभियन्ता लिम्बुको अबको लक्ष्य स्थानीय कृषकलाई व्यावसायिक केराखेतीतर्फ आकर्षित गर्नु हो। खेतीलाई व्यवस्थित बनाउने, उत्पादन वृद्धि गर्ने र उत्पादित केराको बजार सुनिश्चित गर्ने दिशामा काम गर्न सके दाहालटारलाई केराखेतीको नमुना क्षेत्रका रूपमा विकास गर्न सकिने उहाँहरूको विश्वास छ।

अर्जुनधारा नगरपालिका–२ र इलामको माई नगरपालिका–५ को भूगोल समेटिएको दाहालटारमा तीन सयभन्दा बढी घरपरिवारको बसोबास रहेको लिम्बुले जानकारी दिनुभयो। खुदुनाबारी बजारबाट करिब अढाई किलोमिटर दूरीमा रहेको यो बस्ती कृषि उत्पादन र स्थानीय सम्भावनाका दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको छ।

नगरपालिकाको लगानी, नगरप्रमुखको प्रतिबद्धता, सामुदायिक वन उपभोक्ता समूहको प्रारम्भिक सहकार्य र युवा अभियन्ताको सिर्जनशील पहलसँगै स्थानीय बासिन्दाको सामूहिक उत्साहले दाहालटारमा नयाँ सम्भावनाको ढोका खोलेको छ। केराको प्रतिमाले चोकको स्वरूप मात्र बदल्ने छैन, स्थानीय उत्पादनको पहिचान स्थापित गर्दै कृषिलाई व्यावसायिक बनाउने अभियानको प्रतीकसमेत बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय