|
708 SHARES |
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा कार्तिक १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता मौसमी प्रतिकूलताका तथा प्राविधिक कारण स्थगित भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता अब आगामी मंसिर ११, १२ र १३ गते सञ्चालन गरिने भएको छ ।
नगरका ११ वटै वडाका टोली सहभागी हुने प्रतियोगिता अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गर्ने तय भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को कार्यालयको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
नेपालमा भइरहेको मौसमी परिवर्तन र प्राविधिक समस्याका कारण पूर्वनिर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न सम्भव नभएपछि मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ । यसअघि कार्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो ।
प्रतियोगितामार्फत नगरस्तरमा भलिबल खेलको विकास गर्ने, स्थानीय खेलप्रतिभाको पहिचान गर्ने तथा नगरको प्रतिनिधित्व गर्न सक्ने प्रतिस्पर्धी टोली निर्माण गर्ने लक्ष्य राखिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताएका छन् ।
प्रतियोगितामा भलिबल संघको नियमअनुसार खेल सञ्चालन गरिनेछ । प्रत्येक टोलीमा १२ जना खेलाडी रहने व्यवस्था गरिएको छ । प्रतियोगिताका खेलहरू उत्कृष्ट तीनमध्ये दुई खेल जित्ने प्रणालीमा सञ्चालन हुनेछन् भने फाइनल खेल उत्कृष्ट पाँचमध्ये तीन खेल जित्ने प्रणालीमा खेलाइनेछ ।
प्रतियोगिताको विजेता टोलीले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ र तृतीय हुने टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई जनही एक हजार ५०० रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, उदियमान खेलाडी, प्रशिक्षक, डिफेन्डर र सर्भरलाई जनही दुई हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि करिब चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगर खेलकुद विकास समितिका सदस्यसचिव खगेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
स्थानीय खेलाडीको क्षमता अभिवृद्धि, युवामा खेलकुदप्रतिको आकर्षण वृद्धि तथा नगरको प्रतिनिधित्व गर्न सक्ने सक्षम टोली निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । मिति परिवर्तनसँगै प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउँदै निर्धारित नयाँ मितिमा सञ्चालन गर्ने आयोजकको लक्ष्य छ ।









