|
707 SHARES |
विनोद सापकोटा, झापा । झापाको शिवसताक्षी–११ स्थित दुधे रङ्गशालामा मङ्सिर ५ देखि १२ गतेसम्म आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण झापा महिला गोल्डकपको टिकट मूल्य सार्वजनिक गरिएको छ। प्रतियोगिताका लागि मैदानमा दर्शकको सुविधालाई ध्यानमा राख्दै प्यारापिट निर्माण भइरहेको छ भने प्रतियोगिताको चर्चा बढेसँगै स्वदेशी तथा विदेशी खेलाडीको आगमनसमेत सुरु हुन थालेको छ।
प्रतियोगिता आयोजक मूल समारोह समितिका सचिवालय संयोजक पत्रकार हिमाल खरेलका अनुसार क्वाटरफाइनल खेल हेर्न प्यारापिटको स्थानअनुसार १०० र २०० रुपैयाँको टिकट निर्धारण गरिएको छ। मैदानको उत्तर र दक्षिणतर्फ बाँसका प्यारापिटमा बसेर खेल हेर्न १०० रुपैयाँ तथा पूर्व र पश्चिमतर्फका सुविधासम्पन्न प्यारापिटमा बस्न २०० रुपैयाँ तिर्नुपर्नेछ।
क्वाटरफाइनल चरणपछि हुने सेमिफाइनल खेलका लागि बाँसका प्यारापिटको टिकट मूल्य २०० रुपैयाँ र पूर्व तथा पश्चिमतर्फका आरामदायी प्यारापिटको मूल्य ३०० रुपैयाँ तोकिएको छ। फाइनल तथा समापन समारोहका दिन भने मैदानका चारैतर्फका प्यारापिटमा बसेर खेल हेर्न ५०० रुपैयाँको टिकट लिनुपर्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ।
दर्शक व्यवस्थापनलाई व्यवस्थित बनाउन मैदानको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प तथा कप्लर प्रयोग गरी बलियो अस्थायी प्यारापिट निर्माण भइरहेको छ। प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रत्येक खेलमा करिब ७ हजार दर्शक अटाउन सक्ने गरी प्यारापिट निर्माणको व्यवस्था मिलाइँदै छ।
प्यारापिट निर्माणको जिम्मेवारी पाएका सञ्चालक सुमन भण्डारीले पूर्वतर्फको संरचनामा करिब २०० हजार दर्शक अटाउन सक्ने बताए। ५ वर्षदेखि यस व्यवसायमा संलग्न भण्डारीले यसअघि कन्सर्टमा यस्तै संरचना निर्माण गरेको अनुभव सुनाउँदै गोल्डकपमा पनि त्यसको प्रयोग गर्न लागिएको जानकारी दिए।
झापामा महिला फुटबलको ठूलो प्रतियोगिता आयोजना हुने भएपछि दुधे रङ्गशालाको चर्चा पनि बढ्न थालेको छ। खेलकुद पत्रकार इन्द्रजित मुखियाका अनुसार झापाको डोमालाल रङ्गशालापछि दुधे रङ्गशाला अर्को सुविधासम्पन्न रङ्गशालाका रूपमा स्थापित हुँदै गएको छ। प्रतियोगिताले दुधेलाई महिला फुटबलको महत्त्वपूर्ण गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।
दोस्रो संस्करणको प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रणालीमा सञ्चालन हुनेछ। प्रतियोगितामा ८ टोली सहभागी गराउने तयारी छ। नेपालका विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफसँगै अन्य स्वदेशी तथा विदेशी टोलीलाई सहभागी गराउने आयोजकको योजना छ। आयोजकको पनि एउटा टिम सहभागी हुनेछ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्ने तयारी छ।
आयोजकले प्रतियोगिताका क्रममा टिकट व्यवस्थापन, प्रवेश तथा निकास, पार्किङ र सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ। महिला फुटबलको प्रवर्द्धन, खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर र स्थानीय क्षेत्रको खेल पर्यटन विकासमा प्रतियोगिताले योगदान पुर्याउने अपेक्षा गरिएको छ।









