सरकार असफल भएको कांग्रेस नेता आङदेम्बेको दाबी



972 SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले सरकारले कानूनी राज्यको उपहास गर्दै आफ्नो शक्ति र संवैधानिक सीमासमेत बिर्सिएको आरोप लगाउनुभएको छ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा पक्राउ गरिएको घटना, अर्थतन्त्रमा देखिएको निराशाजनक अवस्था र विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको हो।

विज्ञापन

उहाँले कुनै ठोस आधार र कानूनी प्रक्रियाबिनै पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यताको उपहास भएको दाबी गर्नुभयो। सरकारले घटनाको सत्यतथ्य छानबिन गरी संसद्लाई स्पष्ट जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो।

विज्ञापन

अर्थतन्त्रको अवस्थाबारे सरकारको आलोचना गर्दै आङदेम्बेले लगानीमैत्री वातावरण निर्माण गर्नुको सट्टा निजी क्षेत्रलाई तर्साउने र अपराधीजस्तो व्यवहार गर्ने प्रवृत्तिले विकासमा अवरोध पुगेको जिकिर गर्नुभयो। महँगी र कालोबजारीका कारण नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको तथा चाडबाडको समयमा समेत सरकारको उदासीनता देखिएको उहाँले बताउनुभयो।

विपद् व्यवस्थापनमा समेत सरकारको उपस्थिति प्रभावकारी नदेखिएको उहाँको आरोप थियो। विशेषगरी रसुवा तथा बाढी प्रभावित क्षेत्रमा सरकारको कार्यक्षमता कमजोर देखिएको भन्दै उहाँले विपत्तिका बेला नीति र भाषणभन्दा राज्यको प्रभावकारी उपस्थिति आवश्यक हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “राज्यले विधिको शासनलाई बिर्सेर शक्तिको तुजुक देखाउन मिल्दैन। सरकारले यस घटनाको सत्यतथ्य छानबिन गरी संसद्लाई स्पष्ट पार्नुपर्छ, यो सरकारको संवैधानिक दायित्व हो।”

आङदेम्बेले नेपालको आर्थिक वृद्धिदरबारे विश्व बैंकको प्रक्षेपणलाई समेत सरकारको आलोचनासँग जोड्नुभयो। विश्व बैंकले अप्रिल २०२६ मा सार्वजनिक गरेको नेपाल विकास अपडेटमा आर्थिक वर्ष २०२५/२६ मा नेपालको वास्तविक कुल गार्हस्थ्य उत्पादन वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ।

“विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिरहँदा सरकार भाषणमा मात्र सीमित छ। पुँजी निर्माण हुन नसक्दा रोजगारी सिर्जना रोकिएको छ, जसको प्रत्यक्ष असर आम नागरिकको भान्सासम्म परेको छ,” उहाँले भन्नुभयो।

विपद्का बेला सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उहाँले भन्नुभयो, “विपत्ति आउँदा नीति होइन, सरकारको उपस्थिति खोजिन्छ। तर प्रभावित क्षेत्रमा सरकार हराएको महसुस भइरहेको छ। रसुवा वा बाढी प्रभावित अन्य क्षेत्रमा सरकारको कार्यक्षमता कमजोर देखिएको छ।”

आङदेम्बेले शिलान्यासमा मात्र सीमित नभई समयमै आयोजना सम्पन्न गर्ने सरकार अहिलेको आवश्यकता रहेको बताउनुभयो। पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती र बेथितिको अन्त्य गरी विकास आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने वातावरण बनाउन उहाँले सरकारसँग माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय