|
711 SHARES |
झाप । चन्द्रा भण्डारीको निर्णायक गोलको मद्दतले त्रिभुवन आर्मी फुटबल क्लब झापाको दुधेमा जारी दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
उपाधिका लागि आर्मीले शनिबार एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
दुधे रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा आर्मीको जितका लागि चन्द्राले खेलको ५१औँ मिनेटमा निर्णायक गोल गरिन् । बिमला चौधरीको प्रहार पुलिसकी गोलकिपर उषा नाथले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड भएको बललाई चन्द्राले जाली चुमाएकी थिइन् ।
उपाधिको दाबेदार मानिएको पुलिसले खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन । खेलको ४४औँ मिनेटमा आर्मीकी चन्द्राको प्रहारलाई पुलिसकी गोलकिपर उषा नाथले मुस्किलले बचाइन् । त्यसको पाँच मिनेटपछि बिमला चौधरीको प्रहार पनि उषाले विफल बनाइन् ।
खेलको आठौँ मिनेटमा पुलिसकी रेखा पौडेलले गरेको प्रहारलाई आर्मीकी गोलकिपर कविता विकले पञ्च गर्दै बचाएकी थिइन् ।
खेलको प्लेयर अफ द म्याच आर्मीकी बिमला विक घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।









