एपिएफ बन्यो दोस्रो झापा महिला गोल्डकपको च्याम्पियन, आर्मी टाइब्रेकरमा पराजित



945 SHARES

झापा । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफ फुटबल क्लब झापाको दुधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको च्याम्पियन बनेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै एपिएफले उपाधि आफ्नो पक्षमा पारेको हो । उपाधिसँगै एपिएफले ११ लाख रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गर्दा उपविजेता आर्मीले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

खेलमा आर्मीले पहिलो हाफमै अग्रता लिएको थियो । ३१ औँ मिनेटमा सुक्रिया मियाको क्रस पासमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । एपिएफका तीन जना डिफेन्डरलाई बिट गर्दै उनले गरेको प्रहारले जाली चुमेको थियो ।

विज्ञापन

तर, दोस्रो हाफमा एपिएफले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ६० औँ मिनेटमा रश्मिकुमारी घिसिङले डि–एरियाको साइड एङ्गलबाट शक्तिशाली प्रहार गर्दै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

टाइब्रेकरमा एपिएफका गीता राना, निशा थोकर, रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे । आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले मात्र गोल गर्न सके । आर्मीका यशोदा शाही र बिमला थापाको प्रहारलाई एपिएफकी गोलकिपर एञ्जिला तुम्बापोले उत्कृष्ट बचाउ गरिन् ।

खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ एपिएफकै खेलाडीहरूको वर्चस्व रह्यो । सर्वाधिक ९ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर एञ्जिला तुम्बापो, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी, उत्कृष्ट डिफेन्डर गीता राना, उत्कृष्ट प्रशिक्षक जिवेसकुमार पाण्डे घोषित भए । उत्कृष्ट फरवार्डको उपाधि भने आर्मीकी चन्द्रा भण्डारीले प्राप्त गरिन् । विधागत उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

मंसिर ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी थिए । प्रतियोगितामा भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरेका थिए ।

विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की, एन पेनाङ एफसीका उपाध्यक्ष नेत्रनारायण श्रेष्ठ, मुख्य प्रायोजक एक्स्ट्रिमका प्रतिनिधि राजन मल्लिक, झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङ तथा गोल्डकपका अध्यक्ष सन्तोष थोप्रालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय