|
936 SHARES |
अर्जुनधारा । रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति अर्जुनधारा नगरपालिकाले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नगर प्रमुखको आह्वानमा बिहीबार बसेको कार्यपालिका बैठक तथा सरोकारवालासँगको छलफलले नेपाल सरकारको एकद्वार राहत नीतिअनुसार प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएको हो।
बैठकमा स्थानीय उद्योगी, व्यवसायी, सामुदायिक वन तथा संस्थागत विद्यालयका प्रतिनिधिसहित विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको नगरपालिकाले जनाएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सामूहिक पहल आवश्यक रहेको सहभागीहरूले बताएका थिए।
नगरपालिकाले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने उद्योगी, व्यवसायी, संघ–संस्था, जनप्रतिनिधि तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेको छ।
त्यस्तै, नगरपालिकाले बाढीपीडितको सहयोगका लागि नगरवासीलाई समेत आफ्नो क्षमताअनुसार योगदान गर्न अपिल गरेको छ। राहत तथा सहयोगलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल सरकारको एकद्वार प्रणालीमार्फत सहयोग गर्न नगरपालिकाले आग्रह गरेको हो।
यसैबीच, अर्जुनधारा नगरपालिकाले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत नगरपालिकाले गरेको छ।










