सजिनाको चार गोलमा झापा–११ को सानदार जित, पोखरा १०–० ले पराजित



838 SHARES

झापा । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। झापाको जितमा सजिना स्याङताङले चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्।

दुधे रंगशालामा भएको एकपक्षीय खेलमा झापाले सुरुदेखि नै पोखरालाई दबाबमा राखेको थियो। पहिलो हाफमा केही प्रतिस्पर्धात्मक देखिएको पोखरा दोस्रो हाफमा झापाको आक्रामक खेल रोक्न असफल भयो। झापाले दोस्रो हाफमा मात्रै आठ गोल गरेको थियो। खेल अवधिभर पोखराले झापाको पोस्टमा गोल गर्ने अवसरसमेत सिर्जना गर्न सकेन।

झापाले पहिलो गोलका लागि ३६ औँ मिनेटसम्म कुर्नुपरेको थियो। अञ्जली चन्दको कर्नर प्रहारमा डिबक्सभित्र रहेकी सेमिहाङमा लिम्बुले वान टचमा गोल गर्दै झापालाई अग्रता दिलाइन्। ४१ औँ मिनेटमा सजिना स्याङताङले गोल थपेपछि झापा पहिलो हाफमा २–० ले अघि रह्यो।

विज्ञापन

दोस्रो हाफमा झापाले गोलको वर्षा नै गर्‍यो। ५५ औँ मिनेटमा सजिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। ६५ औँ मिनेटमा वैकल्पिक खेलाडी सञ्जु तामाङले मध्यभागबाट एकल प्रयासमा सुन्दर गोल गर्दै झापाको अग्रता बढाइन्।

प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब सहभागी छन्।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले दुधे रंगशालालाई नगर गौरवको आयोजनाका रूपमा विकास गरिने बताए। उनले रंगशालालाई फुटबल एकेडेमीका रूपमा विस्तार गर्दै महिला फुटबल खेलाडी उत्पादन गर्ने केन्द्र बनाउने योजना रहेको बताए।

कार्यक्रम झापा महिला गोल्डकप आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय