|
678 SHARES |
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत मंसिरसम्मको स्वास्थ्य बीमा दाबीको वक्यौता भुक्तानी सम्पन्न भएको जनाएको छ। साथै, बीमित तथा स्वास्थ्य सेवा प्रदायक संस्थालाई अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन आग्रह गरेको छ।
बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गत मंसिरसम्मको दाबी रकम भुक्तानी भइसकेको छ। तर, पुस महिनादेखिको दाबी रकम भने सरकारबाट आवश्यक बजेट विनियोजन भएपछि मात्र भुक्तानी गरिने जनाएको छ।
बोर्डका अनुसार चालू आर्थिक वर्षमा विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। बाँकी रकम भुक्तानीका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने प्रयास भइरहेको पनि बोर्डले जनाएको छ।
विज्ञप्तिमार्फत बोर्डले बीमित सेवाग्राहीलाई आवश्यकता नभएका स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न आग्रह गरेको छ। साथै, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि चिकित्सकीय आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अनुरोध गरेको छ।
बोर्डले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी र दिगो बनाउन सबै सरोकारवाला पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ।










