|
684 SHARES |
विनोद सापकोटा
झापा । शिवसताक्षी नगरपालिका–६ स्थित जन आदर्श माध्यमिक विद्यालयमा आधुनिक शैक्षिक पूर्वाधारसहितको तीनतले विद्यालय भवन निर्माण हुने भएको छ। नेपालस्थित भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको शिलान्यास असार १७ गते बुधबार दिउँसो १२:३० बजे विशेष समारोहबीच गरिने विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय राजदूतावासका उच्च पदस्थ पदाधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वको समेत उपस्थिति रहनेछ भने सम्पूर्ण व्यवस्थापन तथा समन्वय शिवसताक्षी नगरपालिकाले गरेको छ। विद्यालयले विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शिवसताक्षीवासीलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि आग्रह गरेको छ।
निर्माण हुने भवन तीन तलाको हुनेछ। प्रत्येक तलामा ६ वटा गरी कुल १८ कक्षाकोठा रहनेछन्। भवन निर्माण मापदण्डअनुसार प्रत्येक कक्षामा ४५ जना विद्यार्थी अध्ययन गर्न सक्ने व्यवस्था हुने भएकाले नयाँ भवनमा मात्रै करिब ८१० जना विद्यार्थी सहज रूपमा अध्ययन गर्न सक्नेछन्। शिवसताक्षी नगरपालिकाका इन्जिनियर उत्तम बरालका अनुसार भवन निर्माणको लागत अनुमान भ्याटसहित ४ करोड ७० लाख ८३ हजार ९४५ रुपैयाँ ६८ पैसा रहेको छ। निर्माण कम्पनी मक्सुद एमपी जेबी ले ३ करोड ७९ लाख ६० हजार ४५६ रुपैयाँ १२ पैसामा ठेक्का स्वीकार गरेको छ। सम्झौताअनुसार कम्पनीले १५ महिनाभित्र निर्माण सम्पन्न गरी विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गर्नेछ।
करिब ३ हजार ६७३ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवन १३३ फिट लम्बाइ र ३९ फिट चौडाइको हुनेछ। भवनमा छात्र र छात्राका लागि छुट्टाछुट्टै सुविधा सम्पन्न शौचालयसमेत निर्माण गरिनेछ।
वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले आफ्नो पहिलो कार्यकालदेखि विद्यालयको भौतिक पूर्वाधार विकासका लागि निरन्तर पहल हुँदै आएको उल्लेख गर्दै तत्कालीन सांसद स्वर्गीय केशवकुमार बुढाथोकी तथा विभिन्न पक्षको समन्वयबाट यो योजना प्राप्त भएको बताए। उनले भारत सरकार तथा नेपालस्थित भारतीय राजदूतावासप्रति आभार व्यक्त गर्दै भवन निर्माणपछि जन आदर्श माध्यमिक विद्यालय नमुना विद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
नगर प्रमुख मेघाहाङ थोप्राले विद्यालयको सर्वाङ्गीण विकासका लागि नगर कार्यपालिका निरन्तर सक्रिय रहेको बताउँदै शिक्षा क्षेत्रमा गरिएको लगानीको सकारात्मक परिणाम देखिन थालेको बताए। उनका अनुसार नगरपालिकाले विद्यालयहरूको भौतिक पूर्वाधार विस्तार, सुरक्षित तथा प्रविधिमैत्री सिकाइ वातावरण, शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्दै थप शैक्षिक पूर्वाधार भित्र्याउने प्रयासलाई पनि निरन्तरता दिइएको उनले बताए।
नगरपालिकाको पछिल्ला वर्षहरूको लगानीका कारण विद्यालय भवन, कक्षाकोठा, खानेपानी, शौचालय, खेलमैदान, सूचना–प्रविधिमैत्री शिक्षण प्रणालीलगायत शैक्षिक पूर्वाधारमा उल्लेखनीय सुधार आएको स्थानीयको भनाइ छ। जन आदर्श माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनलाई शिवसताक्षीको शिक्षा क्षेत्रका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
भवन निर्माणको खबरसँगै स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षा सरोकारवालामा उत्साह थपिएको छ। उनीहरूले भारत सरकार, नेपालस्थित भारतीय राजदूतावास, शिवसताक्षी नगरपालिका तथा योजना प्राप्तिका लागि सक्रिय भूमिका निर्वाह गर्ने नगर प्रमुख मेघाहाङ थोप्रा, वडा अध्यक्ष मनोज खुलाल कार्की र सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गरेका छन्।
स्थानीयवासीका अनुसार आधुनिक भवन निर्माणसँगै जन आदर्श माध्यमिक विद्यालयमा गुणस्तरीय शिक्षाको वातावरण अझ सुदृढ हुने, विद्यार्थी आकर्षण बढ्ने तथा आगामी पुस्ताले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक पूर्वाधारको लाभ लिन सक्ने विश्वास गरिएको छ।










