बिर्तामोडमा ‘मेयर पकेट प्याकेज’ अन्तर्गत ४५ वटा बाख्रा वितरण

बिर्तामोड। बिर्तामोड नगरपालिकाले ‘मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत वडा नं. ९ स्थित पञ्चकन्या महिला समूहलाई ४५ वटा बाख्रा र एउटा बीउ बोका वितरण गरेको छ।


आज आयोजित कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समूहका १५ जना सदस्यलाई प्रतिव्यक्ति तीनवटाका दरले जम्मा ४५ वटा बाख्रा तथा एउटा बीउ बोका हस्तान्तरण गर्नुभयो।

विज्ञापन

कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता शिवाका अनुसार बाख्राहरू बिर्तामोड–२ स्थित ओम नवज्योति कृषक समूहबाट ल्याई पञ्चकन्या महिला समूहलाई उपलब्ध गराइएको हो।

विज्ञापन

कार्यक्रमअन्तर्गत एक समूहलाई बाख्रा उपलब्ध गराइएपछि एक वर्षपछि ती बाख्राबाट जन्मिएका सोही संख्याका पाठापाठी अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ। वितरण गरिएका बाख्राको बीमा खर्चसमेत नगरपालिकाले नै व्यहोर्दै आएको छ।

नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको वार्षिक कार्यक्रमअन्तर्गत बाख्रा तथा बंगुर ‘साटा–साट’ कार्यक्रम प्रत्येक वर्ष सञ्चालन हुँदै आएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख संग्रौलाले बाख्रापालनलाई आयआर्जनको प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै व्यवसायलाई लगनशीलता र जिम्मेवारीका साथ सञ्चालन गर्न आग्रह गर्नुभयो।

पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख नगेन्द्र खड्काका अनुसार नगरपालिकाले हालसम्म १८ वटा समूहलाई ३६० वटा बाख्रा वितरण गरिसकेको छ।

बाख्रा वितरण कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा समूहका सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय